धरान : लोकतान्त्रिक वाम गठबन्धन सुनसरी १(ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रेवती रमण राईले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पूर्व मेयर तारा सुब्बा जीवित भए मेरो ठाउँमा उहाँ नै उम्मेदवार पाउने बताएका छन् । 
धरान-१६ को घरदैलो कार्यक्रमका क्रममा तारा सुब्बा स्मृति पार्कमा भावुक हुँदै लोकतान्त्रिक वाम गठबन्धन कलम चिन्हका उम्मेदवार रेवतीरमण राईले स्वर्गीय तारा सुब्बाको सालिकमा अभिनन्दन गरेर घरदैलो अभियान अगाडि बढाएका थिए । 
धरान-१६ लाई स्वर्गीय तारा सुब्बाले विकासको बाटोमा डोर्‍याउने काम गर्नुभएको बताउँदै राईले धरान-१६ मा झोलुङ्गे पुल देखि विभिन्न बाटोहरू कालोपत्रे गर्न सुब्बाको निकै महत्त्वपूर्ण योगदान रहेको जानकारी दिए । स्वर्गीय तारा सुब्बाकै स्मृतिमा धरान-१६ मा पार्क निर्माणाधीन अवस्थामा रहेको छ । 
उम्मेदवार राई आफू जितेर गएपछि तारा सुब्बा स्मृति पार्कलाई अझ सुन्दर र व्यवस्थित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादीका मुक्सामहाङ्ग मेन्याङ्बो र प्रदेश सभा (क) तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।