धरान : सङ्घीय प्रतिनिधि सभा सांसद र प्रदेश सभा सदस्यको मङ्सिर ४ गते हुने चुनावको प्रचारको क्रममा सुनसरी क्षेत्र नम्बर १ को धरानमा भोलि बुधवार लोकतान्त्रिक बाम गठबन्धनको वृहत् सभा आयोजना हुने भएको छ ।
सभामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि बन्ने सरकार तथा राष्ट्रिय राजनीतिका बारेका बारेमा महत्त्वपूर्ण सम्बोधन गर्ने गठबन्धनको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । आमसभा बिहान ११ बजे भानुचौकमा हुनेछ ।
प्रचण्डले सुनसरी-१ को विकास, निर्माणका सवालमा गठबन्धन सरकारको वर्तमान र भावी योजनाहरूका बारेमा पनि बताउने छन् । गठबन्धनबाट सुनसरी-१ को सङ्घीय प्रतिनिधि सभा सांसद पदमा नेकपा माओवादीका केन्द्रीय सदस्य मुक्सामहाङ मेयाङबो उम्मेदवार छन् । गठबन्धनले स्थानिय चुनावी प्रतिबद्धता पत्रमा प्रदेश १ को नामाङ्कन, धरानको खानेपानी र सिटी अस्पताल निर्माण, सडक सञ्जाल सहित यो क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र संवर्द्धनका योजनाहरूलाई प्राथमिकता दिएको छ ।  
निर्वाचनमा गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका उमेश थापा प्रदेश सभा (क) र नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राई प्रदेश सभा (ख) का उम्मेदवार छन् । आमसभामा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता प्रकाश शरण महत विशेष अतिथि रहने काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए । उनका अनुसार सभामा गठबन्धनका सहभागी दल नेकपा (एकीकृत समाजवादी) पोलिटव्युरो सदस्य सहित काँग्रेस, माओवादी, नेकपा एसका केन्द्रीय एवं प्रदेश तहका नेताहरूको पनि सभामा सहभागिता रहने कार्यक्रम छ । नेताहरूको व्यस्तता चुनावी चटारोका कारण तोकिएको समयमा सभा सञ्चालन हुने उनले बताए । 
राष्ट्रिय राजनीतिमा नेताहरूको धारणा आउने भएकोले सभा महत्त्वपूर्ण रहने भएकाले उपस्थित भइदिन सभापति पोखरेलले धरानवासीलाई आग्रह गरेका छन् । गठबन्धनका तिनै जना उम्मेदवार चुनावी प्रचारको क्रममा मतदाताका घर घर सम्म पुग्ने घरदैलोको क्रम जारी छ । नाचगान सहितको गठबन्धनको टोली घरदैलो पुग्दा मतदाताहरूबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको सभापति पोखरेलले बताए । आमसभाले त्यो उत्साहलाई थप ऊर्जा दिने बताउँदै उनले भने ‘गठबन्धनका प्रत्याशीहरू युवा, अनुभवी र परिपक्व भएकाले जनताको रोजाइमा परेका छन्, हाम्रो विजय सुनिश्चित छ ।