सुनसरी : २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारी । लेखापढी तथा कानुनी विषयमा विशेष दख्खल राख्ने भण्डारीले त्यो बेलामा स्थानीय सरकारलाई व्यवस्थित बनाउन तत्कालीन मेयर सर्वध्वज साँवाको साथ दिए । 
‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरू, कर्मचारी साथीहरू र इटहरीवासीहरू अझै हुनुहुन्छ,’ उनी भन्छन्, ‘मैले त्यो बेलामा सक्रिय भूमिका निभाएको थिएँ ।’
पछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा जित हात पारे । ६०१ सदस्यीय संविधानसभामा संविधान बनाउन कम र ताली बजाउन धेरै सांसद पुगेका थिए । तर भण्डारी कानुनका ज्ञाता र नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक परिवेश राम्रोसँग बुझ्ने नेता भएकाले उनले संविधान मस्यौदा समितिको सदस्य नै बनेर काम गरे । 
उनी संविधान लेखनमा यति सक्रिय भए कि संविधानको व्याख्या गर्ने देशभरकै थोरै व्यक्तिमा पर्छन् उनी । त्यत्तिखेर संविधानका कतिपय प्रावधानहरूलाई लिएर भएका विवादहरूमा उनको मत निर्णायक हुन्थ्यो । राष्ट्रिय सञ्चारमाध्यमहरू मार्फत उनले व्यक्त गरेका विचार र ज्ञानले धेरै मानिस र अधिवक्ताहरूलाई पनि संविधानको बारेमा स्पष्ट हुने मौका दिएको थियो ।
‘मलाई त्यतीबेला सुनसरीवासीले यो मानिसले संविधान निर्माणमा योगदान दिन सक्छ भन्ने सोचेर जिताउनुभयो,’ उनले भने, ‘मैले चुनिएर गएपछि आफ्नो क्षमताले भ्याएसम्म सक्रियतापूर्वक भूमिका निभाएँ ।’ 
उनले आफ्नो कार्यकालमा अर्को पनि महत्त्वपूर्ण काम गरे । त्यो भनेको मुलुकी (देवानी र फौजदारी) संहिता तयार गर्न नेतृत्वदायी भूमिका खेले । विधायन समिति अन्तर्गत भण्डारी संयोजक रहेको देवानी कार्यविधि समिति तथा उनी सदस्य रहेको ६ वटा विधेयक समन्वय समितिका सदस्य भण्डारीले कानुन निर्माण गर्न भूमिका मात्र खेलेनन्, कानुनलाई लिएर विभिन्न पक्षले राखेको शङ्का हटाउन पनि भूमिका निर्वाह गरे ।
सक्रियतापूर्वक काम गर्दा गर्दै पनि उनले २०७४ सालको सङ्घीय निर्वाचनमा टिकट पाएनन् । तर उनको ज्ञान र सीप प्रदेश १ सरकार र इटहरी उपमहानगरपालिकाको कानुन निर्माण गर्न प्रयोग भयो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र इटहरी सरकारको आग्रहमा दुवै तहका महत्त्वपूर्ण कानुन ड्राफ्ट गर्न उनले भूमिका खेले ।
राजनीतिबाट एउटा घर, जग्गा तथा गाडीसमेत नजोडेको बताउने भण्डारीले आफ्नो बौद्धिकता र ज्ञानलाई नै उपयोग गरे । ‘धेरै अफरहरू आएका थिए, आर्थिक लाभका प्रस्तावहरू आएका थिए, तर कतै आफ्नो इमान बेचिनँ,’ उनी भन्छन्, ‘अहिले पनि देशभर घुमेर कानुन पढाउने र केही परियोजनाहरूमा काम गरेको पैसाले चलिरहेको छु ।’
उनी यो पटक सुनसरी निर्वाचन क्षेत्र नं। २ ९क० बाट प्रदेश सभा सदस्यको लागि निर्वाचनमा होमिएका छन् र यो पटक उनले यस क्षेत्रको विकासका कुरालाई ध्यान दिनुपर्ने अवस्था छ । 
‘प्रदेश सरकारका प्रायः कानुन बनिसकेका छन्,’ उनी भन्छन्, ‘अब जनताको अपेक्षा र मेरो भूमिका पनि यस क्षेत्रको अनि प्रदेशको आर्थिक, सामाजिक विकास कसरी हुन्छ भन्नेमा हुनेछ ।’
विकासका लागि उपयुक्त नीति, योजना र कार्यक्रम आवश्यक हुन्छ । ‘इटहरीको स्थानीय सरकारलाई योजना नीति तथा कार्यक्रम बनाउन सहयोग गरेको थिएँ,’ उनले भने, ‘अब त्यस्तै योजना नीति तथा कार्यक्रमलाई प्रदेश सरकारको विकासमा र प्रदेश सरकारमार्फत मेरो निर्वाचन क्षेत्रको विकासमा प्रयोग गर्छु ।’
अहिलेसम्म कुनै आर्थिक, नैतिक विवादमा नपरेका, मतदाताहरूसँग सौर्हाद सम्बन्ध राख्ने र सरल जीवनशैली अपनाउने भण्डारीले निर्वाचित भएमा गुरुयोजना बनाएर आफ्नो क्षेत्रको व्यवस्थित विकास गर्ने बताएका छन् । 

‘सबै पक्षलाई एकजुट बनाएर स्थानीय र केन्द्रीय सरकारसँग समन्वय गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, आर्थिक र औद्योगिक विकास र पूर्वाधार विकासमा ध्यान दिनेछु,’ उनले भने, ‘यस क्षेत्रका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास र सहरी क्षेत्रको ढल निकास र खोला नियन्त्रण अनि सुकुम्वासी बस्तीलाई व्यवस्थित गर्नेतिर ध्यान दिनेछु ।’