धरान : सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोक कुमार राईले मतदान गर्ने जनतालाई पश्चात्ताप हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 
मतदातालाई आग्रह गर्दै उम्मेदवार राईले निर्वाचनमा भोट हाल्नु भनेको आफ्नो प्रतिनिधि छान्नु हो, वारेस दिनु हो भन्दै सयौँ पटक विचार गरेर, सोचेर मतदान गर्न आग्रह गरे । उम्मेदवार राईले एमाले जसपा समीकरणका उम्मेदवारलाई मतदान गरे पाँच वर्ष पश्चात्ताप हुन नदिने वचनबद्धता व्यक्त गरे ।
नेपाली र भारतीय सीमावर्ती क्षेत्रका नागरिक समेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ सेवा प्राप्त गर्ने गरी यसको समग्र विकास गर्ने उम्मेदवार राईले प्रतिबद्धता जनाए । 
‘यहाँका स्थानीयले उपचार पाउन सकुन्, स्वस्थ जीवन बाँच्न सकुन् भन्ने जनताको अपेक्षामा काम गर्नेछौँ, व्यवस्थापनको सुधार र बजेटको प्रवाहमा हाम्रो ध्यान रहने छ ।’ उम्मेदवार राईले भने । 
धरानमा विगतदेखि थोक व्यापारको केन्द्र रहिआएकोमा ध्वस्त भएको बताउँदै उम्मेदवार राईले बजारलाई पुनर्स्थापित गर्ने एजेण्डा रहेको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले कोसी राजमार्ग अनिवार्य रूपमा अघि बढ्नै पर्ने बताए । तीनकुनेदेखि जिरो प्वाइन्टको समस्या जनताको हित र चाहानाअनुसार हल गर्ने उनले प्रतिबद्धता जनाए । 
धरान लेउतीको सुरु मार्ग, नेकपा एमालेको सरकार भएको बेला घोषणा भएकाले यो वर्ष विस्तृत अध्ययन भएको छ, तमोर कोरिडोर सडक पक्की पुल र पक्की सडकले जोडिएपछि ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, खोटाङ र भोजपुर लगायतका भेगका व्यापारीले धरानका थोक व्यापारीबाट सामान उठाउन सक्ने भएकाले त्यसको व्यवस्था गर्न ध्यान गएको उम्मेदवार राईले बताए । उनले यो क्षेत्रको आर्थिक कारोबारलाई उन्नत बनाउन ध्यान जाने बताए । 
विकास निर्माणको सन्दर्भमा सडक निर्माण सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको बताउँदै उम्मेदवार राईले निर्वाचन क्षेत्रमा कच्ची सडक पर्याप्त भए पनि हर्दियादेखि रामधुनीसम्म र वराहक्षेत्रदेखि कालाबन्जारसम्मका सबै कच्ची सडकलाई पक्की बनाउने उम्मेदवार राईको प्राथमिकता रहेको बताए । 
उम्मेदवार राईले मदन भण्डारी राजमार्ग पूरा गर्ने, धरानका वरिपरिका जिल्ला र पालिकासँग धरानलाई जोड्ने र त्यहाँका कृषि उपज र सुविधा उपभोग लेनदेन गर्ने हिसाबले निर्वाचन क्षेत्रको विकास गर्ने बताए । 
तीनकुने औद्योगिक क्षेत्र र वडा नं. ६ मा औद्योगिक ग्रामलाई सडक, बिजुली, पानीलगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताए । उम्मेदवार राईले निजी क्षेत्रको लगानी भित्राउने र प्रदेश सरकारलाई प्रोत्साहित गर्ने योजना सुनाए । 
औद्योगिक ग्राम र औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न सके चार पाँच हजार जनालाई रोजगार दिन सकिने उम्मेदवार राईको भनाइ छ । 
‘शिक्षा क्षेत्रको थप विकासका लागि भएका संरचनालाई व्यवस्थित गर्ने तर्फ हाम्रो ध्यान गएको छ, यहाँका प्राध्यापकहरूको गुनासो, शैक्षिक परामर्श दिने संस्थाका गुनासोहरू हामीले सुनेका छौँ, यहाँका शैक्षिक संस्था इटहरी सर्दै गरेको तर्फ उहाँहरूले हाम्रो ध्यानाकर्षण गराउनु भएको छ,’ उम्मेदवार राईले भने, ‘इटहरीको विकास हुनुपर्छ त्यसमा दुई मत छैन, तर धरानले पनि विकास गर्नुपर्छ, यहाँ भएका चिज अन्त भाग्नु हुँदैन भन्ने कुरामा हाम्रो ध्यान गएको छ ।’ 
उम्मेदवार राईले पर्यटनको राम्रो सम्भावना भएकाले यस क्षेत्रको साकार बनाउने दिशामा अगाडि बढाउने बताए । उनले धार्मिक पर्यटनका लागि यो निर्वाचन क्षेत्र देवस्थलहरूले अङ्कमाल गरेर राखेको जस्तो देखिएकाले यसको समुचित विकास गरेर धार्मिक सर्किटका रूपमा विकास गर्ने बताए ।