धरान : मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुनसरी जिल्लामा पाँच हजार २ सय ७४ जना सुरक्षाकर्मी र ४ हजार ७ सय २८ जना कर्मचारी खटाइएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार सुनसरी जिल्लामा भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि नेपाल प्रहरी १,५८१, सशस्त्र प्रहरी ७३९, नेपाली सेना ४४०, म्यादी प्रहरी २,४९५ जना र राष्ट्रिय अनुसन्धानबाट १९ जना गरी जम्मा ५ हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थलहरूमा सुरक्षाकर्मी खटाइएको छ । 

यसैगरी निर्वाचन सम्पन्न गर्न सुनसरी जिल्लामा ४ हजार ७ सय २८ जना कर्मचारी विहिबारनै विभिन्न मतदानस्थलहरूमा खटाई सकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसपटक गएको स्थानिय तहको निर्वाचनमा भन्दा मतदाता सङ्ख्या बढेकाले १ सय ६६ मतदान स्थल र १० वटा मतदान केन्द्र यस पटक थपिएर ५ सय ९१ पुगेको छ । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरी जम्मा ८ जनाका दरले कर्मचारी खटाइएको प्रमुख पौडेलले बताए । 

यसैगरी यसपटक सुनसरीमा २ वटा अस्थायी मतदान स्थल पनि रहेको छ । कैदीबन्दीहरुका लागि झुम्का कारागार र जिल्ला अदालत सुनसरीमा अस्थायी मतदान स्थल राखिएको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।