काठमाडौँ : मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मतसहित जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्। कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

नेविसंघको राजनीतिबाट योगेश पार्टी राजनीतिमा आएका थिए। उनी कांग्रेसमा महाधिवेशन प्रतिनिधि पनि छन्। रोमीले युवा पुस्तालाई राजनीतिमा अगाडि बढाउन आफूले चाहेको बताइरहेका थिए।