इटहरी : मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार डाक्टर शेखर कोइराला निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ मतान्तरले जितेका कोइराला काँग्रेसका प्रभावशाली नेता हुन् । 
१४ औँ महाधिवेशनमा काँग्रेस सभापति भिडेका उनी शेरबहादुर देउवा सँग पराजित भए । सुशासन र विधि विधानको अभियान चलाउँदै आएको डा. शेखर सदाबहार प्रतिपक्षी हुन् । काँग्रेस भित्र पनि प्रतिपक्षी भूमिकामा देखिएका डा.शेखरको लागि गठबन्धन र पार्टीको आन्तरिक एकताले विजयको यात्रा बलियो बनायो । 
२००७ साल भदौ ९ गते विराटनगरमा जन्मिएका डा.शेखर विश्वेश्वर प्रसाद कोइरालाका भाइ केशव प्रसाद कोइरालाका छोरा हुन् । डा. शेखरकी आमा नोना कोइराला महिला आन्दोलनकी क्रान्तिकारी योद्धा हुन् । काँग्रेस भित्र अभिभावकिय भूमिका देखाएकी नोना कोइरालालाई काँग्रेसजन अहिले पनि नोना आमाको नामले सम्बोधन गर्छन् । 
डा. शेखर हाल श्रीमती पुनम सहित विराटनगर स्थित कोइराला निवासमै बस्छन् । अल इण्डिया मेडिकल साइन्स इन्स्टिच्युटबाट एमडी सकेका डा.शेखर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति समेत भएका थिए । 
२०२८ सालमा पार्टी सदस्यता प्राप्त गरेका उनले ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यको भूमिकामा रहे । १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा सँग पराजित भएपछि हाल उनी संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । 
२०६४ को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका शेखर २०६५ मा भएको उपनिर्वाचनमा निर्वाचित भए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा लोकतान्त्रिक फोरमका विजय कुमार गच्छदारलाई पराजित गर्दै सोही क्षेत्रबाट उनी निर्वाचित भए । तत्कालीन विद्रोही माओवादी सँगको १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधार हुन् डा.शेखर । जुन कुरा माओवादी अध्यक्ष प्रचण्डले डा शेखरकै चुनावी क्षेत्रको सभामा उल्लेख गरेका छन् । गिरिजा प्रसाद कोइरालाको विश्वास पात्रको रूपमा काम गरेका डा.शेखरले माओवादी सँग वार्ता गर्ने जिम्मेवारी पाएका थिए । 
संविधानमै मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशिताको व्यवस्था राख्न काँग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनले राज्यबाट संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् ।