चतरा : वराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको पौराणिक महत्त्व बोकेको प्राचीन गुप्त वराह गुफाको संरक्षण तथा जीर्णोद्धारको काम सुरु गरिएको छ। गुफाको संरक्षण तथा जीर्णोद्धार गर्ने उद्देश्य राखेर गुफा झर्ने सिँढी निर्माणको शिलान्यास गरिएको छ । शनिवार विराटनगर निवासी राजेन्द्र राउतले सिँढी निर्माणको शिलान्यास गरिएको गुप्त बराह संवर्द्धन उपसमितिका संयोजक रवि श्रेष्ठले बताए । 
वराह पुराणमा उल्लेख भए अनुसार पुरातात्त्विक महत्त्व बोकेको प्राचीन धरोहर गुप्त वराह गुफा हाल लुप्त बनेको छ। पौराणिक एवम् धार्मिक हिसाबले महत्त्व बोकेको उक्त गुफा भौतिक विकास एवम् प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । गुफा संरक्षण  तथा जीर्णोद्धारको उद्देश्यले वराहक्षेत्रका पण्डित योगेश भण्डारीको अग्रसरता स्थानीय समाजसेवी रबी श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । गुफाको संरक्षणको लागि स्थानीयवासी र वराहक्षेत्र संरक्षण मञ्चले समेत अग्रसरता देखाएको छ।
संस्कार, संस्कृत र धर्म प्राचीन धरोहर, पुरातात्त्विक महत्त्व बोकेको गुफाको जीर्णोद्धार काम सुरु भएको संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । पहिलो चरणमा गुफा झर्ने सिँढी निर्माण गर्न सुरु गरिएको शिलान्यास कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले गुप्त वराहको संरक्षण संवर्द्धन तथा जीर्णोद्धार नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।
gupta-baraha