धरान : दाताहरूको सहयोगमा धरान-१५ स्थित चुम्लुङ हिम परिसरमा छुट्टै पुस्तकालय कक्ष निर्माण भएको छ । लिम्बु भाषा, साहित्य, संस्कृति, इतिहास, वंशावलीहरू र हस्तलिखित सिरिजंगा लिपिका दस्तावेजहरुको अध्ययन केन्द्रको रूपमा विकास गर्न लिम्बु विद्यार्थी मञ्चले पुस्तकालय स्थापना गरेको हो । पोहोर साल देखी चुम्लुङ हिमको एउटा कोठामा सुरु गरिएको पुस्तकालय छुट्टै सञ्चालन गर्न नयाँ कक्ष निर्माण गरिएको छ । पुस्तकालय कक्ष भवनको सभा हल छेउ चेञ्जिङ रुमको माथिल्लो तला निर्माण गरिएको हो ।
नौ लाख रुपैयाँको लागतमा निर्मित छुट्टै पुस्तकालय धरान स्थित हुक्पाचोङबाङ लिम्बु परिवारका शेरमान हुक्पाचोङबाङ, प्रेम हुक्पाचोङबाङ, डम्बर हुक्पाचोङबाङ, मच्छिन्द्र हुक्पाचोङबाङको आर्थिक सहयोगमा भएको हो । हुक्पाचोङबाङ दाजुभाइले उनीहरूका दिवङ्गत मातापिता नरबहादुर हुक्पाचोङबाङ र आसमायाको स्मृतिमा कक्ष निर्माण गरिदिएका हुन् । कक्ष १८ फिट लम्बाई १३ फिट चौडाइ हलको रूपमा छ । 
सामाजिक, धार्मिक सेवाको रूपमा सामुदायिक भवन र मन्दिर निर्माणमा ठुल्ठूला लगानी भए पनि पुस्तकालय भवनमा दाताहरूले लगानी गरेको पाइँदैन । 
आज आयोजित हस्तान्तरण समारोहमा सहभागीहरूले सानै भए पनि पुस्तकालय कक्षको लागि भएको यो लगानी उदाहरणीय भएको बताए । हुक्पाचोङबाङ परिवारले चुम्लुङलाई नवनिर्मित हस्तान्तरण गरेको अवसरमा हुक्पाचोङबाङ परिवारका केन्द्रीय अध्यक्ष शेरमान हुक्पाचोङबाङले कक्षलाई पुस्तकालय अनुकूल उपयोग गर्न हस्तान्तर गरिएको बताए । दाता परिवारलाई कदर पत्र प्रदान गर्दै प्रमुख अतिथि वडा-१५ का वडाध्यक्ष नरेश इङवारमले चुम्लुङको भौतिक संरचनामा सहयोग गरेको हुक्पाचोङबाङ परिवारले पुस्तकालयमा लगानी गरेर उदाहरणीय कार्य गरेको बताए । 
chumlung-him-room-newचुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले पुर्खाको स्मृतिमा सामाजिक कार्य गर्न भौतिक संरचना निर्माणमा लगानी गर्ने परम्परा पछिल्लो समय लिम्बु समुदायमा बढेको बताउँदै विगतमा बनेका पार्टी, पौवा चौतारा सुरक्षाको अभावमा नष्ट भएर गइरहेका छन्, त्यसैले संस्थागत रूपमा निरन्तरता पाउने गरी भौतिक निर्माणमा सहयोग अनुकरणीय रेको बताए । केन्द्रीय सदस्य सङ्गीता सुब्बाले हुक्पाचोङबाङ परिवारले चुम्लुङ गर्दै आएको सहयोग उल्लेखनीय रहेको बताइन् । 
चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले पुस्तकालय पठन संस्कृतिको मुख्य आधार भएको बताए । लिम्बु समुदायले पठन संस्कृतिलाई प्राथमिकता नदिँदा मातृभाषा समेत बिर्सिसकेको अवस्था रहेको बताउँदै चुम्लुङले पुस्तकालय अभियान नै चलाउनुपर्ने बताए । जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङले नवनिर्मित पुस्तकालय कक्ष लिम्बु विद्यार्थी मञ्च पुस्तकालय सञ्चालक समितिलाई हस्तान्तरण गरेपछि व्यवस्थित पुस्तकालय सञ्चालनमा आउने बताएका छन् । पुस्तकालयमा हजार भन्दा बढी सङ्ख्यामा लिम्बु भाषा लिपि सहितका साहित्य, इतिहास, वंशावली तथा विविध विषयका पुस्तक सङ्कलित छन् ।