विराटनगर : बजारको सौन्दर्यीकरण सहित फुटपाथ नियन्त्रण गर्ने अभियानमा विराटनगर महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ । 
व्यापारीले महानगरमै पुगेर विरोध गर्नुका साथै फुटपाथ नियन्त्रण गर्न पुगेको टोलीलाई अवरोध गर्न थालेपछि महानगर आक्रामक रूपमा प्रस्तुत भएको हो । कार्यवाहक मेयर प्रकाश साहको नेतृत्वमा सोमबार मेनरोड र पुरानो गुद्रीको अनुगमन गरेको छ । व्यापारीहरूले सोमबार महानगरको प्रवेशद्वारमा पुगेर नाराबाजीसमेत गरेका थिए । महानगरले फुटपाथ नियन्त्रण गर्ने क्रममा नालाबाट साढे ६ मिटर छाडेर मात्रै सामान राख्न आग्रह गरेको छ । त्यस्तै सटरभन्दा माथि बाहिर निकालेर बनाएका टिनका संरचनासमेत हटाउन महानगरले निर्देशन दिएको छ । 
फुटपाथ नियन्त्रण र सटरभन्दा बाहिर जथाभाबी राखेका सामान हटाउन कार्यवाहक मेयर साहको नेतृत्वमा नगर प्रहरी निरीक्षक राजन पौडेल, घर नक्सा शाखाका प्रमुख राकेश ठाकुर, नगर प्रहरी, जनपद प्रहरी मेनरोड र गुद्री बजार पुगेको थियो । महानगरको टोली पुगेपछि कतिपय व्यापारीले हतारहतार सामान भित्र राखेका थिए । पहिलो पटकलाई सम्झाई बुझाइ छाडिएको र अब फेरि पनि सटरभन्दा बाहिर राखे सामान नै जफत गरिने कार्यवाहक मेयर साहले बताए । 
विराटनगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन व्यापारीहरूको सहयोग आवश्यक रहेको साहको भनाइ थियो । टोलीले मेनरोड र गुद्री लाइनका दुवैतर्फ राखेका सामान हटाएको थियो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङ समेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो ।
व्यापारीले प्रदर्शनका लागि सटरभन्दा बाहिर राखेको सामानलाई समेत हटाउन थालेको छ । जथाभाबी सामान झुन्ड्याउँदा सहरको सौन्दर्ययतामा समेत ह्रास आएकाले फुटपाथ नियन्त्रण र मापदण्ड विपरीत राखेका सामान हटाउन सुरु गरिएको कार्यवाहक मेयर साहले बताए । हेर्न लायक र गर्व गर्न लायक विराटनगर बनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ । 
अनुगमनका क्रममा कतिपय व्यापारीले आफ्नो पसल अगाडि दैनिक ३ देखि ५ सय रुपैयाँसम्म लिएर तरकारी राख्न दिने गरेको पाइएको थियो । पसल अगाडिको सडक पेटीमा तरकारी राख्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । तरकारी व्यापारीले आफूले दैनिक ३ सय दिने गरेको बताएका थिए । व्यापारीले समेत दैनिक रकम लिने गरेको स्वीकारेका थिए ।