विराटनगर : नेपाली काँग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । 
कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । “राष्ट्रका यी धरोहरको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व हो,” कोइरालाले भने, “धर्म र संस्कृतिको संरक्षणमा म संसद्मा खरो रूपमा उत्रिनेछु ।” 
उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीलगायतको सहभागिता थियो ।