चतरा : सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा अबको सरकार लागिपर्ने बताएका छन् । उनले अब काँग्रेस नेतृत्वमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताए ।
नेपाली काँग्रेस नेतृत्वको सत्तारुढ लोकतान्त्रिक वाम गठबन्धनबाट दोस्रो पटक सुनसरी क्षेत्र नं. ४ बाट विजयी भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले क्षेत्र नं. ४ को र समग्र देशको विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर लागि पर्ने बताए ।
शुक्रवार वराहक्षेत्र-७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्कीले शिक्षामा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने बताए ।  "शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिक विकासमा ५ वर्ष काम गरे अब गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्नेछु" कार्कीले भने । देश विकासकालागि पर्यटन, ऊर्जा, उद्योग, कृषि सहित सूचना प्रविधिको समेत महत्त्वपूर्ण भूमिका हुने उनले बताए । 
विद्यालय र क्याम्पसमा सूचना प्रविधिको काम भइराखेको तथा पेपरलेस प्रविधिको लागि काम भइरहेको कार्कीले जानकारी दिए। मन्त्री कार्कीले वर्षमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । लोकतान्त्रिक वाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने कार्कीले बताए । 
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले क्याम्पसबाट कृषि प्राविधिक विषयको अध्यापन गर्नु पर्नेमा जोड दिएकी थिइन् । क्याम्पस व्यवस्थापन समितिकी अध्यक्ष सुशिलादेबि खनाल (पौडेल) को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन, सञ्चालन र भौतिक विकासमा सहयोग पुर्याउने डिल्लीप्रसाद डोटेल, ईश्वरी प्रसाद न्यौपाने, राधा निरौला, वशराज लिम्बू , कल्पना कार्की, स्वर्गीय रामबहादुर कार्की, बद्रीनाथ घिमिरे, युवराज गौतम र रत्नबहादुर राउतलाई सम्मान गरिएको क्याम्पस प्रमुख खगेन्द्रबहादुर निरौलाले बताए  । 
कार्यक्रम विभिन्न खेलकुद प्रतियोगिता विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।