धरान : धरान-१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
धरान-१३ की उषा राईलाई आमा समूहले सामूहिक रूपमा कुटपिट गरेको र उनको उपचारको क्रममा मृत्यु भएपछि हिजो दिनभरि धरानमा महिलाहरूले प्रदर्शन गरे । उनीहरूले दोषीलाई पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी, इलाका प्रहरी कार्यालय धरान र पिडक भनिएकी उर्मिला राईको घर घेराउ गरेर प्रदर्शन गरेका थिए ।
मुख्य आरोपी भनिएकी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । हिजो साँझ थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भनी ७ जनाको नाममा किटानी जाहेरी इलाका प्रहरी कार्यालयमा परेको भए पनि घटनामा संलग्न महिलाहरू फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । यता यो घटनालाई लिएर भइरहेको प्रदर्शनले गर्दा प्रहरीलाई अनुसन्धान गर्न समेत अवरोध भइरहेको छ । प्रदर्शनकारीको भिड नियन्त्रण गर्न र प्रदर्शन भइरहेको ठाउँमा प्रहरी खट्नुपर्ने भएकोले फरार भएकाहरूलाई पनि पक्राउ गर्न प्रहरी परिचालन हुन समस्या भइरहेको छ ।
मृतक उषा राईलाई कार्तिक ३ गते उर्मिला राईले आफ्नो श्रीमानसँग जोडेर उनकै घरमा महिलाहरूको समूह लिएर गएर कुटपिट गरेको भिडियोमा देखिएको छ । उषा राईलाई महिला समूहले कुटपिट गरी केही अखाद्य पदार्थ समेत खुवाइएको बताइएको छ । उनको तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर घर फर्केपछि दुवै पक्षले इलाका प्रहरी कार्यालयमा मिलापत्र गरेका थिए । त्यसको केही दिन पछि उषा राईको स्वास्थ्यमा समस्या देखिए पछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो । सघन उपचार कक्षमा भर्ना भएर उपचारको क्रममा उषा राईको मृत्यु भएपछि उनको कुटपिटकै कारण मृत्यु भएको भनिएको छ । अहिले सम्म मृतकको पोस्टमार्टम हुन सकेको छैन ।
घटनामा संलग्न थप महिलाहरू किटानी जाहेरीमा परेका बाहेक भिडियोमा कुटपिटमा संलग्नहरूलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।