इटहरी : प्रदेश १ सरकार गठन गर्ने दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेलाई सकस पर्ने भएको छ । प्रदेश १ को पहिलो दल भएको एमालेले एकल बहुमत ल्याउन सकेन । सत्तारुढ गठबन्धनको ठुलो दल काँग्रेसको पनि सरकार गठन गर्न पुग्ने अङ्कगणित देखिएको छैन । 
पहिलो र दोस्रो पार्टी मिलेर सरकार गठन गर्ने अवस्था नभए पनि साना दलहरूको भरमा परेका छन् काँग्रेस एमाले । ९३ सदस्यीय प्रदेशसभामा समानुपातिक सहित एमालेका ४० सांसद छन् । संसद्मा बहुमत पुर्‍याउन ४७ सांसदको आवश्यकता पर्छ । सत्तारुढ गठबन्धन तर्फ काँग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ सांसदले पनि सरकार गठन हुने अवस्था छैन । नेकपा एसको समानुपातिकमा एक सिट आउने आकलन भए पनि सरकार गठनको लागि सङ्ख्या अपुग नै देखिन्छ । 
उता राप्रपाको प्रत्यक्षमा २ सहित ६ सिट पक्का गरेको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको जसपाले समानुपातिकबाट एक जना सांसद पाउने भएको छ । एमालेले राप्रपा र जसपा सँग गठबन्धन गर्दा मात्र सरकार गठन गर्न सक्ने देखिन्छ । 
काँग्रेसले भने हालको सत्तारुढ गठबन्धनको अलावा जसपा सँग गठबन्धन गर्नुपर्ने भएको छ । सत्तारुढ दलका ४६ सांसद कायम रहेको अवस्थामा जसपाको १ सांसद थप्दा मात्र सरकार गठनको लागि बहुमत पुग्ने देखिन्छ । 
जसपाले समर्थन नगरेको अवस्थामा नयाँ समीकरणबाट सरकार बन्ने प्रस्ट छ । जसपाबाट हाल स्वास्थ्य मन्त्री रहेका जयराम यादव काँग्रेस उम्मेदवार अमृत अर्याल सँग पराजित भए । उनै अर्याल अहिले काँग्रेसबाट संसदीय दलको नेता बन्ने अवस्थामा पुगेका छन् । हालका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले काँग्रेसको तर्फबाट संसदीय दलमा बलियो दाबेदारी प्रस्तुत गरेका छन् । प्रमुख सचेतक समेत भइसकेका कार्की मुख्यमन्त्री बन्ने गरी तयारीमा छन् ।
एमालेबाट हिक्मत कार्कीको नाममा सर्वसम्मत हुने सम्भावना देखिएको छ। माओवादी केन्द्रले इन्द्र आङ्बो र जीवन आचार्य मध्ये एकलाई अगाडी सार्ने भएको छ । 
सरकार गठनबारे जसपाले भने केन्द्रीय निर्णय अनुसार अगाडी बढ्ने बताएको छ । मन्त्री यादवका अनुसार केन्द्रीय गठबन्धनको आधारमा प्रदेशमा पनि सरकारमा जाने नजाने बारे छलफल हुने भएको छ । 
राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले २२ गते अन्तिम टुङ्गो भएपछि मात्र धारणा बनाउने बताएका छन् । राप्रपा विना सरकार नै गठन नहुने अवस्था आए मात्र सरकार बारे सोच्न सकिने उनले बताए ।