इटहरी : शुद्ध दूध प्याकिङ गरी उपभोक्ताको घर घरमा पुर्‍याइदिन इटहरीको दुग्ध उत्पादक सहकारी संस्थालाई उपभोक्ताहरूले आग्रह गरेका छन् । इटहरीमा गाईभैसीको शुद्ध दूध खरिदबिक्री गर्ने संस्था भनेर परिचित दुग्ध उत्पादक सहकारी संस्थालाई अब दूधको होम डेलिभरी सुविधा उपलब्ध गरिदिन आग्रह गरेका हुन। 
सोमबार आफ्नै कार्यालयमा आयोजना गरिएको संस्थाको ४५ औँ वार्षिक साधारण सभामा बोल्ने अतिथि वक्ता तथा अन्य उपभोक्ताहरूले बजारमा पानी मिसाएको दूध खाँदा हैरान भएको भन्दै संस्थाले शुद्ध दूधको होम डेलिभरीको सुविधा दिनुपर्ने धारणा राखे । 
सहरका चौक-चौकमा खुलेका अनगिन्ती डेरी पसल र मोटरसाइकल, साइकलमा डुलाउँदै ल्याउने दूधवाला कसैबाट पनि शुद्ध दूध खान नपाएको पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश भट्टराईले बताए। 
उनले भने, “मैले थाहा पाए देखी यो संस्थाले शुद्ध दूध खरिदबिक्री गर्दै आएको छ । हामी शुद्ध दूध खोज्दै कहाँ जाने मिसावट दूध खाएर हैरान भैयो, अब संस्थाले नै प्याकिङ गरी घरघरमा पुर्याउने व्यवस्था गर्नुपर्छ ।”
अध्यक्ष भट्टराई जस्तै अन्य वक्ता तथा उपभोक्ताहरूले पनि बजारमा शुद्ध दूधको माग बढ्दै गएको बताए ।  स्वास्थ्यका लागि शुद्ध दूध आवश्यकता भएपनि पानी मिसावट दूधमा खर्च मात्रै भएको धेरैको गुनासो छ । 
सहकारीहरू नियम कानुन भन्दा बाहिर गएर सञ्चालन भएका कारण समस्यामा पर्ने गरेको कार्यक्रमका प्रमुख अतिथि दुग्ध उत्पादक केन्द्रीय सहकारी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार संयोजक उमाकान्त शर्माले बताए । 
पछिल्लो समय पूर्वका धरान, इटहरी लगायतका सहकारीहरू समस्यामा परेर भाग्नुपर्ने स्थिति आएको भन्दै सहकारीहरू नियम अनुसार सञ्चालन हुनुपर्ने बताए । 
किसानबाट सङ्कलन गरिएको शुद्ध दूध नै उपभोक्तालाई विक्री गर्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष खेम प्रसाद काफ्ले जानकारी दिए । बजारमा उपभोक्ताको माग बढ्दै गएकाले दूधको प्याकिङ सहित होम डेलिभरी सर्भिस तर्फ पनि अघि बढ्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष काफ्ले बताए । 
संस्थाले अहिले दैनिक १ हजार ५ सय लिटर दूध किसानबाट खरिद गरी विक्री गर्दै आएको छ । योसँगै दही, पनिर, खुवा, नौनी ध्यू सुपथ मूल्यमा विक्री वितरण गर्दै आएको अध्यक्ष काफ्ले जानकारी दिए । 
यस्तै, गाईभैँसीको दाना, चोकर, ब्रान, मैकपिठो, घाँसको बिउ लगायतका अन्य सामाग्रीहरू सहज रूपमा किसानलाई उपलब्ध गराएर प्रोत्साहन गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए । 
सोमबार संस्थाले वार्षिक साधारण सभामा २७ जना किसान र ७ जना उपभोक्तालाई पुरस्कृत गरेको छ ।  नियमित रूपमा दूध ल्याउने, उत्कृष्ट कारोबार गर्ने किसानलाई सम्मान गरिएको हो । बढी दूध खरिद गर्ने ७ जना उपभोक्तालाई पनि संस्थाले सम्मान गरेको छ । 
नियमित रूपमा दूध ल्याउने र बढी कारोबार गर्ने किसान श्रीमती तारा चापागाईँलाई ८ हजार बराबरको साइकल पुरस्कार प्रदान गरिएको छ । अन्य किसानहरूलाई विभिन्न सामाग्री पुरस्कारको रूपमा वितरण गरिएको संस्थाका सचिव राजेन्द्र धमलाले जानकारी दिए । 
दुग्ध उत्पादक संस्थाले भैँसी पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप ऋण पनि लगानी गर्दै आएको छ । भैँसी खरिदका लागि समूह जमानीमा वार्षिक १०  प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउँदै आएको छ । 
किसानका गाई भैँसी सुत्केरी हुँदा १ हजार बराबरको औषधी पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । यी लगायत अन्य पशु बिमाको कार्यक्रम मार्फत सुविधा उपलब्ध गराउँदै आएको संस्थाका व्यवस्थापक ध्रुव  कोइरालाले जानकारी दिए ।