धरान : धरान वडा १६ मा प्रहरी चौकी भवन निर्माण सुरु गरिएको छ । आज बिहान आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । 
धरान उपमहानगरमा जनसङ्ख्या र क्षेत्रफलको हिसाबले ठुला वडाहरूमा पर्ने धरान वडा-१६ मा शान्ति सुरक्षाका लागि अहिले सम्म अस्थायी प्रहरी विट समेत थिएन । वडाध्यक्ष भट्टराई निर्वाचित भएपछि वडा तथा वडावासीको शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी सुरक्षाको पहल सुरु भएको थियो ।
प्रहरी गस्ती टोलीमा निर्भर रहेको वडा १६ मा प्रहरी चौकी निर्माण भएपछि स्थायी रूपमा प्रहरी दरबन्दी सहितको चौकी रहने पहल गरिएको वडाध्यक्ष भट्टराईले बताए । त्यसैका लागि ३० लाख रुपैंया लागत अनुमानको योजना अनुसार प्रहरी चौकी भवनको निर्माण सुरु गरिएको हो ।
वडाको नौलो बस्ती टोलमा डेढ कट्ठा जग्गामा निर्माणाधीन प्रहरी चौकी भवन भान्सा घर सहित ४ कोठाको हुनेछ । भवन आगामी वर्ष निर्माण सम्पन्न हुने गरी दुई वर्षे योजना अनुसार निर्माण थालिएको हो । आवश्यकता अनुसार भवनमा तला थप्न, भवन विस्तार गर्न सकिने निर्माण स्थलमा पर्याप्त पूर्वाधार रहेको बताइएको छ ।
२०४६ सालमा वडा १६ को शान्ति सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर पहिलो पटक अस्थायी प्रहरी विट सञ्चालन गरिएको थियो । पछिल्लो समय मुलुकमा द्वन्द्व सुरु भएपछि वडा बाट प्रहरी सुरक्षा हटाइएको हो । त्यस यता वडामा जनघनत्व र अपराधका घटना बढे पनि प्रहरी चौकी पूनःस्थापना गरिएको छैन । वडावासीको शान्ति सुरक्षा प्रहरी गस्तीमा निर्भर रहँदै आएको वडाध्यक्ष भट्टराईले बताए । 
उनका अनुसार वडाको जनसङ्ख्या हाल २० हजार भन्दा बढी छ । तीव्र सहरीकरणले धरान-१६ मा व्यापारिक गतिविधिहरू बढेको छन् र नयाँ बसोबास बढ्दै गएको छ । धरान उपमहानगरमा क्षेत्रफल र जनसङ्ख्याको दृष्टिले ठुला ४ वटा वडाहरू मध्ये वडा १६ पनि एक हो । जनघनत्व बढे सँगै वडामा दैनिक अपराधका घट्नाहरु पनि बढेकाले प्रहरी चौकी आवश्यक रहेको वडाध्यक्ष भट्टराईले बताए ।
उनका अनुसार वडामा लागुऔषध दुर्व्यसनीका कारण हुने घट्नाहरु दैनिक बढेका छन् । घरेलु हिंसाका घट्नाहरुले पनि शान्ति सुरक्षामा जोखिम बढाएको छ। वडामा यस्ता ससाना ठानिने घट्नाबाट हत्या जस्ता जघन्य अपराध पनि भएको उदाहरण विद्यमान रहेको वडाध्यक्ष भट्टराईले बताए । उनले भने ‘स्थायी रूपमा वडामा प्रहरीको व्यवस्था भए यस्ता आधा अपराध आफै नियन्त्रित हुनसक्छ भन्ने विश्वास छ ।’