धनकुटा : धनकुटामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । 
इन्सेक जिल्ला प्रतिनिधि ईश्वर थापाले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जानकारी दिए । जसमा ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिका सहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास, बाल यौन दुर्व्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधि थापाले जानकारी दिए । 
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मङ्सिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो। इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ ओटा घटना भएको जनाइएको छ । यस्तै गैरसरकारी संस्था महासङ्घकी केन्द्रीय सदस्य गीता अधिकारीले धनकुटामा मानव अधिकारको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । 
धनकुटा मा मानवअधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा शनिवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासङ्घको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए। उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए। सुधारको ठाउँ जहाँ पनि भएको बताउँदै आफूले के गर्दै छु भनेर प्रश्न गरे मानव अधिकार हनन नहुने बताए। कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।