धरान : सिद्धि नेवा परिषद् धरानले प्रदान गर्दै आएको चन्द्र स्मृति पत्रकारिता पुरस्कार यसपालि अग्रज पत्रकार आनन्द श्रेष्ठलाई प्रदान गरिएको छ । स्वर्गीय सिद्धिमान गङ्गालक्ष्मी पलिखेको १५९ औँ जन्म जयन्ती तथा परिषद्को सोह्रौँ वार्षिक साधारण सभामा शनिवार पुरस्कार प्रदान गरिएको हो ।

परिषद्को धरान-७ स्थित भवनमा आयोजित एक समारोहका बिच प्रमुख अतिथि सुनसरी-१ प्रदेश सभा (क)का नव निर्वाचित सांसद रमेश बस्नेतले पत्रकार श्रेष्ठलाई पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशि २१ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । सोही अवसरमा परिषद्ले धरानका स्कुल र क्याम्पसहरूका जेहेन्दार नेवार समुदायका विद्यार्थीहरू २२ जनालाई  १० हजार रुपैयाँको दरले छात्रवृत्ति पनि वितरण गरेको छ । उक्त पुरस्कार तथा छात्रवृत्तिहरू परिषद्मा विभिन्न दाताहरूले स्थापना गरिदिएका हुन ।

नवनिर्वाचित प्रदेश सांसद बस्नेतले सिद्धि नेवा परिषद्को सामाजिक कार्य धरानमा उदाहरणीय रहेको बताउँदै पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्न पुरस्कारको स्थापना गरे थप उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गरे । परिषद्की निवर्तमान अध्यक्ष सरला कायस्थले दाताहरूको सहयोगमा सञ्चालित पुरस्कार तथा छात्रवृत्ति कार्यक्रमलाई संस्थाले निरन्तर बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । पत्रकार श्रेष्ठले पुरस्कारले आफूलाई हौसला दिएको र नयाँ दायित्व थपिएको अनुभव गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका भूतपूर्व सभापति ५९ वर्षीय पत्रकार श्रेष्ठ २०४३ साल देखी पत्रकारितामा प्रवेश गरेका हुन् । वातावरण पत्रकारितामा क्रियाशील श्रेष्ठ ब्लाष्ट टाइम्सका संस्थापक कार्यकारी सम्पादक, डेलि मर्निड पोष्टका सम्पादक, प्रकाशक रहिसकेका छन् । काठमाण्डौको कामना प्रकाशन समूह, देशान्तर साप्ताहिकमा सम्बद्ध रहिसकेका श्रेष्ठ हाल दृष्टि साप्ताहिक तथा दृष्टि अनलाइनसँग सम्बद्ध छन् । हालै मात्र उनलाई नेपाल प्रेस काउन्सिलले पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।

परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठको सभापतित्वमा भएको सभामा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदनहरू पारित गरिएको थियो । महासचिव महेश प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भरत मोहन पलिखेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले परिषद्को नयाँ कार्यसमितिको निर्वाचन गर्ने बताइएको छ ।