• रश्मि प्रधान
धरान : बौद्ध धर्म दर्शन अनुरूप विश्व शान्ति र सकल जगतको रक्षार्थ धरा-१८ स्थित श्री हिमालयन महायान देक्षेन क्षोलिङ गोन्पा गुम्बामा १० करोड बज्र गुरु जप अनुष्ठान हुने साथै ५ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न लामा छात्रवास तथा धार्मिक सभा हलको समुद्घाटन हुने भएको छ।
शनिवार पत्रकार सम्मेलन गर्दै पौष २ गते देखि पौष ११ सम्म विश्व शान्ति तथा सकल जगत् प्राणीको रक्षार्थ भारत मैसुर स्थित नामड्रोलिङ गोन्पाका सर्व परमपुज्य गुरु खेन्छेन छेवाङ ग्याछो रिम्पोक्षे, खेन्पो, दोर्जे लोपोन, लोपोन एवम् लामा तथा बौद्ध दर्शनको अग्रज व्यक्तित्वहरूको उपस्थितिमा हरेक दिन धार्मिक प्रवचन सहित १० करोड बज्र गुरु जप, दैनिक करिब ७०० जनाको सहभागितामा विश्व शान्तिको पूजा पाठ सहितको कार्यक्रमको आयोजना गरिने हिमालयन महायान देक्षेन क्षोलिङ गोन्पा (गुम्बा)का अध्यक्ष ङावा लप्टु लामा शेर्पाले बताएका छन् ।
२०३२ सालमा बहुधार्मिक, बहु सांस्कृतिक, बहुभाषिक एवम् पर्यटकीय नगरीका रूपमा चिरपरिचित धरान-१८ रत्नचौकमा अवस्थित सुनसरी जिल्लाकै अग्रणी गोन्पा (गुम्बा) को रूपमा स्थापित तथा वैधानिक तवरबाट सञ्चालित श्री हिमालयन महायान देक्षेन क्षोलिङ गोन्पा रहेको अध्यक्ष शेर्पाले बताए ।
सुनसरी जिल्लाको सबै भन्दा पुरानो गुम्बामा १ नं. प्रदेश सरकार, धरान उपमहानगरपालिका कार्यालय, १८ नं. वडा कार्यालय लगायत शुभेच्छुक दाताहरूको विशेष सहयोग एवम् योगदानमा निर्मित वहुप्रयोजनार्थ लामा छात्रवास तथा धार्मिक सभा हल भवन निर्माण  समुद्घाटन कार्यक्रम गरिने सचिव दातेन्जी शेर्पाले बताएका छन् ।
मङ्सिर २९ गते दिउँसो ४ बजे परमपुज्य गुरुको स्वागतको लागि हरेक गुम्बाहरूबाट कम्तीमा २०/२० वटा मोटरसाइकल गरी करिब १०० वटा मोटरसाइकल र्‍याली गरिने साथै तुल ब्यानरहरू भानुचौक, जिरोपोईण्ट, रेल्वे चौक लगायतका स्थानमा राखिने भएको अध्यक्ष शेर्पाले जानकारी दिए । प्रत्येक दिन बिहान ७ बजे देखि साँझ ५ बजेसम्म जप हुने उनले बताए । 
हाल कार्यक्रमको तयारी अन्तिम चरणमा सचिव शेर्पाले बताएका छन् ।