धरान : नेकपा एमालेले सुनसरी धरानबाट प्रदेश १ समानुपातिक सांसदमा नाम परिवर्तन गरेको एक पत्र आज साँझ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त पत्रमा यसअघि समाचारहरूमा आएको सुनसरी धरानबाट लहरुमाया जिमीको नाम संशोधन गरेर यशोदा कायस्थको नाम निर्वाचन आयोगलाई सिफारिस गरिएको छ । 

उक्त पत्रको आधिकारिकता बारे एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीसँग सम्पर्क गर्दा उनले निर्वाचन आयोगबाट अन्तिम नामावली प्रकाशित नभए सम्म केही भन्न नसकिने बताइन् । पार्टीको केन्द्रीय पदाधिकारीहरुसंग सम्पर्क नभएकोले पत्रको आधिकारिकता बारे केही भन्न नसकिने उनको भनाई छ । 

उनका अनुसार यसअघि समानुपातिक सूचिबाट यशोदा कायस्थको नाम पठाउने कुरामा अल्पसङ्ख्यक जातिको व्याख्या स्पष्ट हुन नसक्दा लहरुमाया जिमीको नाम गएको थियो । पहिलो पटक पठाइएको नामहरूमा निर्वाचन आयोगले क्रम सङ्ख्या नमिलेकोले सच्याउन भनी पत्राचार गरेपछि पार्टीले सच्याएर संशोधित नाम पठाएको हुनसक्ने केन्द्रीय सदस्य भण्डारीको भनाई छ ।    

एमाले श्रोत अनुसार समानुपातिक तर्फको बन्द सुचीमा अल्पसङ्ख्यक तर्फ क्रम सङ्ख्या ९ का लहरुमाया जिमीको नाम सिफारिस गरेको थियो । यशोदा कायस्थको नाम त्यसअघि क्रम सङ्ख्या ८ मा थियो। आयोगले क्रमसङ्ख्या भङ्ग गरेर पठाएको भन्दै सच्याएर पठाउन पत्राचार गरेको थियो । सोही क्रममा पार्टीले जिमीको नाम हटाएर क्रम सङ्ख्या ८ मा रहेकी यशोदा कायस्थको नाम आयोगलाई पठाएको बताइएको छ । 

 सार्वजनिक भएको पत्रको पहिलो बुँदामा लेखिएको छ "प्रदेश नं १ को अल्पसङ्ख्यकतर्फ लहरु जिमी (याक्खा) नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र (अल्पसङ्ख्यक) को प्राथमिकता क्र.सं ८ को यशोदा कायस्थको नाम कायम गरिदिनु हुन" लेखिएको छ । 

सोही पत्र अनुसार प्रदेश १ का साथै मधेस प्रदेशमा पनि प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसङ्ख्यक भित्रको प्राथमिकता क्रम सङ्ख्या ८ की राजपतीदेवी जैसलवालको नाम कायम गर्न पत्राचार गरिएको छ । मधेस प्रदेशकै प्राथमिकता क्रम ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम सङ्ख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्रमा उल्लेख छ ।