विराटनगर : झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार झापाको मेचीनगर नगरपालिका १० स्थितमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बरको स्कुटरमा सवार रहेका भारत दार्जिलिङका २८ वर्षीय मनोज गिरी र  ३० वर्षीय प्रमोद कुमार राउतलाई चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यसैगरी लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ मा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०४-००१ प ३१०२ नम्बरको मोटरसाइकलमा सवार रहेका छथरजोरपाटी गाउँपालिका १ धनकुटाका २० वर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ का १९ वर्षीय  सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू विरुद्ध  थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।