धरान : धरानको सदन रोडबाट ठुलो परिणाममा लागूऔषध सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार (हिजो) साँझ छ बजे धरान उपमहानगरपालिका वडा नम्बर तीन सदन रोड बस्ने ३४ वर्षीय मन्त्री भनिने मन कुमार श्रेष्ठको घरबाट उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागूऔषध घरमा राख्ने मन कुमार श्रेष्ठ, धरान वडा नम्बर पाँच देउराली सिरान बस्ने २६ वर्षीय अमन राई, वडा नम्बर १४ विजयपुर बस्ने २१ वर्षीय रञ्जित तामाङ रहेका छन् । त्यस्तै धरान-१४ कै दुईधारे बस्ने १९ वर्षीय नेल्शन याक्खा, २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियार रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 
उनीहरूलाई लागूऔषध ओसारपसार तथा बिक्री गर्ने मुख्य योजनाकार रहेको आधारमा धरानका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । ३४ वर्षीय मन्त्री भनिने मन कुमार श्रेष्ठको घरमा खानतलासी गर्दा फेर्नागन ३२ एम्पुल, डाईजेपाम ३९ एम्पुल फेला परेको थियो । यस्तै लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल गरी जम्मा १५५ एम्पुल फेला परेको हो । यस्तै लाइफलाइन पाचँ एमएल लेखिएको प्रयोग नभएको सिरिन्ज दुई थान, ट्रामाडोल एक हजार ट्याब्लेट, स्पास्पेइन एक हजार पाचँ सय ट्याब्लेट समेत फेला परेको प्रहरीले जनाएको छ । 
उक्त लागूऔषध उनले सेवन तथा बेचबिखन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका श्रेष्ठलाई लागू औषध ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको छ । 
त्यस्तै प्रहरीले गोप्य सूचनाका आधारमा लागूऔषध प्रयोगकर्ता खोजी गर्दा धरान पाँच बस्ने अमन राईलाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल पाचँ हजार ३९ ट्याब्लेट, स्पास्पेइन दुई हजार छ सय ४० सहित उनकै घरबाट पक्राउ गरिएको हो । 
धरान-१४ घर भएका रञ्जित तामाङलाई प्रतिबन्धित औषधी स्पास्पेइन २४० ट्याब्लेट र ट्रामाडोल २५० ट्याब्लेट सहित पक्राउ परेका छन् । त्यस्तै लागूऔषध प्रयोगकर्ता खोजी गर्ने क्रममा प्रहरीले सोही वडा बस्ने नेल्शन याक्खा, शाहिल भण्डारी र शेखर परियारलाई स्पास्पेइन आठ ट्याब्लेट र ट्रामाडोल ८० ट्याब्लेट सहित पक्राउ गरिएको इलाका प्रहरी  धरानले जानकारी लिएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि औषधी विभाग विराटनगर पठाइएको छ ।
dharan-laghuausad-2079-08-2