सुनसरी : मोरङको बुढीगंगा गाउँपालिका-६ सुकचर तिलेठेमा रहेको नारायण माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाएको छ । 
विद्यालय प्राङ्गणमा आयोजित स्वर्ण महोत्सवमा विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा सक्रिय रहेका पूर्व विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान गरिएको छ । 
सम्मानित हुनेहरूमा विद्यालयमा अध्ययन गरेर राजनीतिमा सक्रिय सांसद अमनलाल मोदी, थारु आयोगकी सदस्य शान्ति मोदी, पत्रकार अर्जुन सुबेदी लगायत रहेका छन् । कार्यक्रममा विद्यालयमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम माझीको अध्यक्षता र पूर्व प्रधानाध्यापक श्यामकरण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताए । 
स्वर्ण महोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा सरस्वती मन्दिरको समेत शिलान्यास गरिएको छ । बि.सं २०२९ सालमा स्थापना भएको विद्यालयमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।