धरान : आज राति फुटबल जगतका दुई महारथी राष्ट्र फ्रान्स र अर्जेन्टिनाबिच फिफा विश्वकप २०२२ को फाइनल म्याच हुँदै छ । अर्जेन्टिना र फ्रान्सबिचको खेल आइतबार नेपाली समय अनुसार राति ८ः४५ बजे लुसाइल रङ्गशालामा हुनेछ । समग्रमा दुवै राष्ट्रले दुई-दुई पटक विश्वकपको उपाधि जितेका छन् । फ्रान्सले सन् १९९८ र २०१८ मा र अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेका थिए ।
आइतबार हुने फाइनल अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा प्रतिष्ठित र सर्वाधिक पुरस्कार प्राप्त गर्ने निर्णायक फुटबल खेल समेत हो । यो खेलका लागि सक्नेले रङ्गशालाभित्र प्रत्यक्ष उपस्थिति जनाएर र नसक्नेले विभिन्न सञ्चारमाध्यम मार्फत आफूलाई साक्षी बनाउन लालायित छन् । बितेको एक महिनादेखि विश्वका अधिकांश फुटबल प्रेमीलाई एकत्रित पार्दै आएको विश्वकप फाइनल खेल विश्वकै एक तिहाइ मान्छेका लागि व्यग्र प्रतीक्षाको विषयसमेत बनेको छ ।
फाइनल म्याचमा एकातिर करियरकै अन्तिम विश्वकप म्याच भनेर घोषणा गरिसकेका लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना हुनेछ भने अर्कोतिर युवा स्टार किलियन एम्बाप्पेको गतिले राम्रै साथ पाएको बलियो फ्रेन्च टोली उभिनेछ । ३५ वर्षीय मेसीले फ्रान्सविरुद्ध खेल्ने फाइनल म्याचमा आफ्नो विश्वकप खेल सङ्ख्या २६ पुर्याउदै छ । जुन विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रूपमा नयाँ कीर्तिमान समेत हो ।
मेसीले यो समेत दोस्रो पटक विश्वकपको फाइनल खेल्न लागेका हुन् । यसअघि, सन् २०१४ मा फाइनल खेलेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १-० ले पराजित हुँदा सर्वकालीन महान् खेलाडीको सूचीमा अटाएका मेसीको विश्वकप जित्ने सपना तुहिएको थियो । त्यसैले, आइतबार हुने फाइनलमा उनले आफ्नो सबै तागत लगाउनेछ ।
अर्कोतिर लगातार दोस्रो पटक फाइनल पुगेको फ्रान्स पनि अर्जेन्टिनालाई फलामको चिउरा साबित हुने गरी मैदानमा प्रस्तुत हुने रणनीतिमा छ । जसका लागि फ्रान्सका २३ वर्षीय स्टार एम्बाप्पेको उत्कृष्ट लय अर्जेन्टिनी डिफेन्सलाई निरीह बनाउनतिर अग्रसर हुनेछ । एम्बाप्पेको नजर फ्रान्सले तेस्रो पटक ट्रफी उचाल्नेतिर मात्र होइन, गोल्डेन बुट जित्नेतिर पनि केन्द्रित हुनेछ ।
जारी विश्वकपमा मेसी र एम्बाप्पे दुवैले समान पाँच गोल गरेका छन् । तर, एम्बाप्पेभन्दा एसिस्ट बढी गरेका कारण मेसी नै अगाडि छन् । यदि, फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्यो भने त्यो ६० वर्षअघि ब्राजिलले मनाएको खुसीयालीको पुनरावृत्ति हुनेछ ।
क्लब स्तरको कुरा गर्नुपर्दा मेसी र एम्बाप्पे एउटै क्लब पेरिस सेन्ट जर्मेनका दुई धारिला अस्त्र हुन् । एकातिर मेसी करियरकै अन्त्यतिर छ भने अर्कोतिर करियरको उत्कृष्ट कालमा एम्बाप्पे रहेका छन् । अर्जेन्टिनाले फ्रान्सलाई हराउन मुख्यतः एम्बाप्पेलाई सजिलै खेल्न दिने छैन । हुन त, क्वार्टरफाइनलमा इंग्ल्यान्डले पनि एम्बाप्पेलाई बाँधेर खेल्न सफल भएका थिए । तर, हारलाई भने टार्न सकेनन् । दुवै टोलीमा मेसी र एम्बाप्पे बाहेक अन्य स्टार खेलाडीहरू पनि नतिजालाई बदल्न सामर्थ्य राख्छन् ।
यसमा कुनै शङ्का छैन कि मेसी र एम्बाप्पे तारा हुन् तर, उनीहरूलाई चम्किन सहयोग गर्ने उनीहरूका टिममेटहरूको योगदानलाई पनि कम आँक्न मिल्दैन । अर्जेन्टिनाका युवा खेलाडी जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरौडलाई कम आँकेमा भुल हुनेछ । किनभने जारी विश्वकपमा दुवैको गोल सङ्ख्या ४-४ पुगिसकेका छन् । गोल्डन बुट जित्न गोल गर्ने धुनमा हुने यी दुवैले फाइनलमा टिमका लागि पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने अनुमान गर्न सकिन्छ ।
त्यसैगरी, अर्जेन्टिनाका २१ वर्षीय युवा मिडफिल्डर इन्जो फर्नान्डेज, २३ वर्षीय एलेक्सिस मेक एसलिस्टरको प्रदर्शन पनि जारी विश्वकपमा सम्झन लायक बनेको छ । फाइनलमा यी दुवैमाथि पनि अर्जेन्टिनाको आशा छ । अर्कोतिर फ्रान्सका एन्टोइन ग्रिजम्यानले आफ्नो उत्कृष्ट लयलाई जारी राखेका छन् भने २२ वर्षीय अर्का युवा स्टार औरेलिन चौमेनीले पनि मिडफिल्डको मध्य भागमा आफ्नो कुशलतालाई प्रस्तुत गरिसकेका छन् । जसले गर्दा चोटका कारण टिममा नअटाएका पाउल पोग्बा र एन्गोलो कान्टेको कमीलाई समेत महसुस हुन दिएको छैन ।
फाइनल पुगेका दुवै टोलीले जारी प्रतियोगितामा हारको स्वाद चाखिसकेका छन् । अर्जेन्टिना समूहको पहिलो खेलमा नै अप्रत्याशित रूपमा साउदी अरेबियासँग १–० ले स्तब्ध बनेको थियो । अर्कोतिर फ्रान्सलाई पनि समूहको अन्तिम खेलमा ट्युनिसियाले १-० ले नै हराएको थियो । यसरी हेर्दा दुवैको डिफेन्स बलियो भए पनि अभेद्य भने नभएको मान्न सकिन्छ । अर्जेन्टिनाको रक्षापंक्तिको कुरा गर्ने हो भने आक्रामक तर कहिलेकाहीँ अनियमित जस्तो देखिन्छ ।
क्रिस्टियन रोमेरो र ३४ वर्षीय निकोलस ओटामेन्डीको सेन्टर ब्याक जोडी एक अप्रत्याशित टोलीविरुद्ध समेत डगमगाइसकेको विगतको खेलले दर्शाउँछ । तर, हारपछिको खेलमा अझ बलियो बन्दै अघि बढेको अर्जेन्टिनाले राउन्ड अफ १६ मा अस्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्स विरुद्ध पनि गोल भने बेहोरेका छन् ।
अर्कोतिर फ्रान्सको डिफेन्स पनि अभेद्य नभएको छर्लङ्ग नै छ । सेमिफाइनलमा मोरक्को विरुद्धको जित मात्र फ्रान्सको लागि प्रतियोगिताको पहिलो क्लिन सिट बनेको छ । तर, मोरक्कोले गोल गर्न नसके पनि धेरै राम्रा अवसरहरू सिर्जना गरेर फ्रान्सको डिफेन्सको परीक्षा भने लिएको थियो । त्यसअघि क्वार्टरफाइनलमा फ्रान्ससँग २–१ ले पराजित हुँदा इंग्ल्यान्डले पनि गोल फ्रान्सको डिफेन्सलाई आच्छु आच्छु हुने गरी नै भेदेका थिए ।
दुवै टोलीसँग अभेद्य डिफेन्स नभए पनि दुवै गोलकिपरहरू फर्म भने राम्रो नै मान्न सकिन्छ । फ्रान्सका कप्तान ह्युगो लोरिस आत्मविश्वासी देखिएका छन् । उनी एथ्लेटिक सट रोक्न सक्ने क्षमतावान् गोलकिपर पनि हुन् । अर्जेन्टिनाका इमिलियानो मार्टिनेज पनि निकै अनुभवी छन् । उनी पेनाल्टी विशेषज्ञका रूपमा समेत चर्चित हुन थालेका छन् ।
प्राविधिक रूपमा अर्जेन्टिना फ्रान्ससँग सतर्क हुने देखिन्छ । विगतमा अर्जेन्टिनाका अन्य खेलाडीहरूले मेसीको खुट्टामा बल देख्दा टोलीको केमेस्ट्री बिर्सने गर्दथे । तर, यसपटक पुरै टिमवर्क देखिएको छ । लाग्छ पुरै टोलीले लियोनल मेसीलाई टोलीको एक मात्र नेताको रूपमा स्वीकार गरेका छन् । टोलीका सबैजना मेसीका लागि केही गर्न आतुर छन् । मेसीको आक्रमणमा टोलीले दिलोज्यान दिएर साथ निभाएको देख्न सकिन्छ । मेसीले क्रोएसियाविरुद्ध जुलियन अल्भारेजको गोलका लागि गरेको सुन्दर असिस्ट यसको एउटा राम्रो उदाहरण हो ।
मेसी विपक्षीको हाफमा छिर्दा जुलियन अल्भारेज, रोड्रिगो डि पल, म्याक अलिस्टर पनि लहरै विपक्षीको हाफमा देखा पर्दछ । मेसी, ठियो हर्नान्डेजले छोडेको स्पेसमा फ्रान्सेली ब्याकलाइनमा खाली ठाउँहरू ’एक्सप्लोइट’ गर्न सक्छन् । राफेल भारान र इब्राहिमा कोनाटेलाई चुनौती थप्दै अल्भारेजको लागि बल थ्रेड गर्न सक्नेछन् । त्यस्तै, अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज पनि फ्रान्सको अर्को टाउको दुखाइको कारण बन्न सक्छ । त्यसमाथि दुवै फ्रान्सेली सेन्टर ब्याक बिरामी परेको खबरले फ्रान्सलाई फाइनलमा समस्या हुन सक्छ ।
पछिल्ला तीन विश्वकपलाई हेर्ने हो भने अर्जेन्टिनाको डिफेन्समा समस्या भइरहेको देखिन्थ्यो । जुन कतार विश्वकपमा धेरै सुधार भएको देखिएको छ । अर्जेन्टिनाले ६ जनाको डिफेन्समा नियमित खेलिरहेको छ । पहिले गोल बेहोरेपछि डिफेन्समा तनावको वातावरण सिर्जना हुन्थ्यो, अहिले त्यसमा सुधार भएको छ । अर्जेन्टिनी प्रशिक्षक स्कालोनिले ४-३-३ फर्मेनको अधिकतम सदुपयोग गरेको देखिन्छ । अस्ट्रेलियाविरुद्ध उनले ४-३-३ शैली प्रयोग गरेका थिए ।
नेदरल्यान्ड्स विरुद्ध ५-३-२ को शैली अपनाएका थिए । क्रोएसिया विरुद्ध उनले ४-२-२-२ प्रयोग गरेका थिए । रोड्रिगो डी पल र एलेक्सिस म्याक एलिस्टरलाई मिडफिल्डमा थप्दै टिम संयोजन गरेका थिए । फाइनलमा भने स्कालोनीले फ्रान्सलाई कुन फर्मेसनबाट शुरु गर्ने भनेर अनुमान गर्ने मौका दिएका छैनन् । स्मरण रहोस्, स्कालोनीकै प्रशिक्षणमा लगातार ३२ खेलमा अर्जेन्टिना अपराजित रहेको थियो ।
अर्कोतर्फ, डिडियर डेसच्याम्प्सको फ्रान्स प्रतियोगिताभर आफ्नो ४-३-३ प्रणालीमा अड्किएका छन्। डेसच्याम्प्स विपक्षीको बारेमा धेरै चिन्तित नभएको हो कि भन्ने पनि लाग्न सक्छ । उनी फ्रान्सलाई फाइनलमा पु¥याउन यही प्रणालीमा अडिग रहने अपेक्षा गरिएको छ । उनले आक्रमणमा क्लियन एम्बाप्पेको गतिलाई सदुपयोग गर्न अन्य सहयोगीलाई स्विच गर्ने रणनीति बुन्ने प्रयास गर्नेछ । उनले मुख्यतः मेसीलाई बाँधेर राख्ने रणनीति अवलम्बन गर्नेछ ।
विश्वकप फाइनलजस्तो ठूलो खेलको लागि हेड टू हेड रेकर्ड पढ्नलाई रोचक लाग्न सक्छ । तर, वर्तमानमा यसले त्यस्तो कुनै विशेष भूमिका खेल्छ भन्ने कुरा सान्दर्भिक नहोला । हेड टू हेड हेर्ने हो भने यी दुई राष्ट्रले एक–अर्कासँग खेलेका १२ म्याचमध्ये अर्जेन्टिनाले ६ पटक जितेको छ । त्यस्तै, तीन खेल बराबरीमा सकिएको छ भने बाँकी तीन फ्रान्सको पक्षमा गएको छ । तर, पछिल्ला नतिजाहरूलाई हेर्ने हो भने फ्रान्सको वजन भारी देखिन्छ । पछिल्लोपटक फ्रान्सले २०१८ को विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको थियो, जसमा एमबाप्पेले दुई गोल गरेका थिए । अर्कोतिर अर्जेन्टिनाले भने फ्रान्सविरुद्ध २००९ पछि जित्न सकेको छैन ।
सायद, ऐतिहासिक नतिजाहरू भन्दा पनि महत्वपूर्ण आइतबारको फाइनल हुने लुसेल स्टेडियममा उपस्थित ८० हजार दर्शकको समर्थन हुनेछ । जहाँ कसको अधिक समर्थक हुने भन्ने कुरा कौतुहलको विषय समेत हो । अर्जेन्टिनाले प्रतियोगिताभर राम्रो दर्शक समर्थन पाएको छ । जसले गर्दा अर्जेन्टिनालाई कतारको रंगशाला पनि घरेलु मैदान जस्तै महसूस भएको हुनुपर्दछ । दोहास्थित अर्जेन्टिनाको दूतावासले पनि ३५ हजारदेखि ४० हजार अर्जेन्टिनाका फ्यानहरू विश्वकपका लागि कतारमा रहेको बताएको छ ।