धरान : नेपाली काँग्रेसले संसदीय दलको नेताको निर्वाचनका लागि ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ गठन गरेको छ।

उक्त समितिले सूचना जारी गर्दै संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्य तालीका सार्वजनिक गरिसकेको छ। त्यसअनुसार सोमवार समितिले मतदाता नामावली प्रकाशित गरिसकेको जनाएको छ।

उक्त कार्यपालिका अनुसार मङ्गलवार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको छ। सोही दिन उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ भने मङ्गलवार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

काँग्रेस संसदीय दलको नेताको निर्वाचन भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्ने संस्थापन पक्षबाट उनी संसदीय दलको नेताका लागि उम्मेदवार बन्ने निश्चित छ।

सोही समूहका महामन्त्री गगन थापाले आम निर्वाचनमा भोट माग्दा नै मतदातासमक्ष आफू “प्रधानमन्त्री बन्न काँग्रेस संसदीय दलको नेताका लागि पार्टीभित्रै लड्ने” प्रतिबद्धता जनाएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनावपछि उनलाई संसदीय दलको नेताका रूपमा समर्थन गर्ने बताइसकेका छन्। तर संस्थापन इतर समूहबाट एक जना मात्र उम्मेदवार बन्ने अवस्थामा को उम्मेदवार हुन्छन् भन्ने सोमवार साँझसम्म टुङ्गो नलागेको बुझिएको छ।

काँग्रेसको पछिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापति पदमा चुनाव लडेका डा. शेखर कोइरालाले पनि संसदीय दलको नेताको चुनाव लड्न चाहेपछि संस्थापन बाहिरको समूहभित्रै मुख्यतः दुईजना आकाङ्क्षी देखापरेका छन्।

यस्तो अवस्थामा कोइराला र थापा दुवैसँग कुराकानी र छलफल गरेर एक जना उम्मेदवार तय गर्न काँग्रेसको उक्त समूहका नेताहरूले सोमवार दिनभरि छलफल गरेको विवरण आएका छन्।