धरान : प्रदेश १ मा नव निर्वाचित प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुष ११ गते (सोमवार) हुने भएको छ । प्रदेश सभा सचिवालयद्वारा मङ्गलवार जारी शपथ ग्रहण कार्यक्रम सम्बन्धी सूचनामा उक्त कुरा जनाइएको हो । सूचनामा प्रदेश सभा सदस्यले चाहेमा आफ्नो मातृभाषामा शपथ ग्रहण गर्न सक्ने व्यवस्था पनि भएको जनाइएको छ ।
शपथ ग्रहण कार्यक्रममा उपस्थित हुनअघि प्रदेश सभा सदस्यमा (प्रत्यक्ष तथा समानुपातिक) निर्वाचित सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति फोटोकपी), नेपाली नागरिकताको प्रमाणपत्रको फोटो कपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति प्रदेश सभा सचिवालयमा दुई घण्टा अघि नै बुझाउन सूचनामा जनाइएको छ ।
शपथ ग्रहणमा राष्ट्रिय पोसाक वा आ-आफ्नो जातीय सांस्कृतिक पहिचान झल्किने पहिरनमा उपस्थित हुन सकिने जनाइएको छ । मातृभाषामा शपथ ग्रहण गर्न चाहने प्रदेश सभा सदस्यहरूले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति तिन दिन अगावै प्रदेश सचिवालयमा उपलब्ध गराउन पनि सूचनामा आग्रह गरिएको छ । प्रदेश सभा ऐन, २०७४ को दफा ७५ को उपदफा (२) लगायतको ऐनले उक्त सुविधा दिएको हो ।
शपथ ग्रहण कार्यक्रम पुष ११ गते सोमवार दिनको साढे ११ बजे प्रदेश सभा सचिवालयमा हुने कुरा प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीद्वारा जारी सूचनामा जनाइएको छ ।
pradesh-government-notice