• मोहन श्रेष्ठ

धरान : सूर्य आई केयर अस्पतालले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

रोटरी क्लब अफ धरान र रोटर्याक्ट क्लब अफ धरानको सहकार्यमा शनिवार, धरान १३ को वडा कार्यालयमा शिविर सम्पन्न गरेको हो । धरान उपमहानगरपालिका १३ नं. वडा कार्यालयको समेत विशेष सहयोगमा सम्पन्न शिविरमा १०३ जनाले आँखा जाँच गरेका थिए । धरानका हरेक वडा कार्यालय र विभिन्न सङ्घ संस्था र समूह सँग सहकार्य गरेर सूर्य आई केयर अस्पतालले निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको छ ।

अस्पताल धरानमै भएकाले धरान र धरान आसपासका समुदायहरूका आँखा रोगीहरूको स्वास्थ्य उपचारमा विशेष प्राथमिकता दिएर सेवा प्रदान गरिरहेको सूर्य आई केयरका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इच्छा जोशीले जानकारी दिइन । शिविर धरान १३ को वडा कार्यालयमा सञ्चालन गरेर  आँखा रोगीहरूको उपचारमा सहयोग गरेकोमा आयोजकहरूलाई वडाध्यक्ष नेत्र काफ्लेले धन्यवाद दिएका थिए ।

१०३ जनाको आँखा जाँच गरिएकोमा १५ जनाको मोतिया बिन्दुको अपरेशन गर्नुपर्ने र १७ जनाको आँखा सम्बन्धी विशेष रोग भएको पाइएको थियो । शिविरमा निःशुल्क सुगर जाँच, निःशुल्क औषधि र सहुलियत मूल्यमा चस्मा उपलब्ध गरिएको थियो । आँखाको मोतिया विन्दुको अपरेशन लगायत कुनै पनि किसिमको सेवा धरानमा नै विशेष सहुलियत दिए उपलब्ध गराउने योजना रहेको अस्पताले जानकारी दिएको छ ।

समाजले आफ्ना सदस्य परिवार साथै स्थानीय समुदाय समेतलाई लक्षित गरी शिविर सञ्चालन गरेको रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङले बताए । आँखा शिविरबाट रोटर्याक्ट क्लबका युवाहरूलाई समेत सामाजिक सेवामा सहभागी गराउँदै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुगेकोमा कार्यक्रम संयोजक सरिता न्यौपानेले खुसी व्यक्त गरेका थिए । आफ्नो वडामा घर नजिकै आँखा सम्बन्धी विशिष्ट सेवा पाएकोमा सहभागीहरूले आफूहरू सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए ।

डिसेम्बर महिना हेल्थ मन्थ भएकाले यो आँखा शिविर सम्पन्न गरेको रोटरी क्लबका पूर्व अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि सूर्य आई केयर अस्पतालसँग सहकार्य गरेर शिविर सम्पन्न गर्ने धारणा रोटरी क्लब अफ धरानकी सचिव दिभा अमात्यले धारणा राखेका थिए ।  कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष युगल कुमार श्रेष्ठ, सुरेन्द्रमान स्थापित र रोटर्याक्ट  क्लबका पदाधिकारीहरूको बाक्लो सहभागिता रहेको थियो ।