सुनसरी :लामो समय देखि धरान नगर प्रमुख हर्कराज राई र कार्यपालिका बिचको विवाद अन्त्य गर्ने सहमति भएको छ । उपप्रमुख अइन्द्र विक्रम बेघाको समन्वयमा गत असोजबाट बढेको विवाद अन्त्य गर्ने सहमति भएको हो । 

आज (आइतबार) नगर प्रमुख राई उपप्रमुख बेघा र कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरूबिच संवादमा विगतका कमिकमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा कार्यपालिका बैठक सुचारु गर्ने सहमति भएको उपप्रमुख बेघाले जानकारी दिए । 

भएका कमिकमजोरलाई स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गल्ती दोहो¥याउने सहमति भएको उपप्रमुख बेघाले बताए । विवाद अन्त्य भएसगैं गत असोज १३ गतेबाट बस्न नसकेको कार्यपालिका बैठक भोली पुस ११ गते दिनको २ बजे बस्ने सहमति भएको छ। 

आगामी कार्यपालिका बैठकमा सुरुमा नगर प्रमुख राईले धारणा राख्ने सहमति भएको छ । त्यसपछि उपप्रमुख बेघाले आफ्नो धारणा राखेपछि वडाअध्यक्षहरुको तर्फबाट नरेश इवारम र नरेन्द्रकुमार राई (प्रवीण) ले पनि बोल्ने सहमति भएको छ । त्यसपछि मात्र बैठकको एजेन्डामा प्रवेश गर्ने उपप्रमुख बेघाले जानकारी दिए । 

आगामी बैठकमा विगतमा दिनमा बैठकमा पेस हुन नसकेका महत्त्वपूर्ण एजेन्डा माथि छलफल हुने छन् । वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराईले आफुँ संवादमा नभए पनि विगतको विवाद अन्त्य भएको बताए । उनले सबैलाई समेटेर अघि बढ्ने सहमति भएकाले आफुँहरु कार्यपालिका बैठकमा सहभागी हुने बताए । 

गत असोज १३ गते जारी कार्यपालिका बैठकमा धरान १७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने नगर प्रमुखले प्रस्ताव राखेका थिए । तर कार्यपालिका सदस्य अनुप देवानले पार्कको नाम फेर्न नहुने फेर्नै परे कार्यपालिकाबाट निर्णय हुनु पर्ने धारणा राखेका थिए । देवानले बोली नसक्दै नगर प्रमुख राईले तपाई बाहिर जानुस् भन्दै आदेश दिएका थिए । सोही विषयलाई लिएर नगर प्रमुख राई र कार्यपालिका बिचमा विवाद बढ्दै गएको थियो ।

 राईले कार्यपालिका सदस्यहरूलाई राजीनामा नै दिन निर्देशन दिएका थिए भने कार्यपालिका सदस्यहरूले राईको अर्को आलोचना गर्दै माफी माग्नु पर्ने अडान राखेका थिए ।