तेह्रथुम : इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज भएको एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिधिवत रूपमा समुद्घाटन गरेका हुन ।  
भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख गिरीले चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए । साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोस र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।  
नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित रकम २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।