इटहरी : नेकपा माओवादी केन्द्रले प्रदेश १ मा मुख्यमन्त्री दाबी गर्दै सरकार बनाउन वार्ता समिति गठन गरेको छ । माओवादीको प्रदेश कमिटीको पदाधिकारी बैठकले समिति गठन गरेरै प्रदेश १ को मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो । 
प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । प्रदेश १ संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो र प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ सदस्य रहेको समितिले पार्टी नेतृत्व र गठबन्धनका दलहरूमा दबाब बढाउने भएको छ। 
वार्ता समिति नाम दिइएको समितिले प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने माग दाबी सहित पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरूसँग छलफललाई अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ । प्रदेश अध्यक्ष नेम्वाङद्वारा जारी विज्ञप्तिमा संसदीय दलको नेता चयन भएका आङ्बोलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ ।  
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमाले ४० सिट सहित पहिलो दल बनेको छ । नेपाली काँग्रेस २९ सिटमा हुँदा माओवादी १३ सिटमा खुम्चिएको छ। सङ्घीय सरकारमा पनि तेस्रो रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चयन भएका छन् । सोही गठबन्धनको निरन्तरता स्वरूप माओवादीले मुख्यमन्त्री दाबी गरेको छ । 
काँग्रेस प्रमुख प्रतिपक्षी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ६, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ सांसद सहित प्रतिपक्षमा रहने सम्भावना देखिएको छ । प्रदेश १ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र भएको हुँदा एमालेले आफ्नो दाबी बलियो बनाएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्की आगामी कार्यकालको मुख्यमन्त्री बन्ने अन्तिम तयारीमा छन् ।