विराटनगर : विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैङ्कहरू तयार भएका छन् । 
आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैङ्कका प्रादेशिक कार्यालयका प्रमुखहरूलाई बोलाएर बुधवार छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्विकार्दै बैङ्कका प्रादेशिक प्रमुखहरूले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए । 
छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैङ्कका प्रमुखहरूको सहभागिता थियो । महानगरको कर वृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरूले सामूहिक प्रतिबद्धता जनाए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कहरूले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैङ्कका प्रमुखहरू सहमत भएका छन् ।
छलफलमा मेयर नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गरेका थिए । उनले बैङ्कहरूले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिन मेयर कोइरालाले आग्रह गरेका थिए । उनले बैङ्कहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरको सौन्दर्यकरण लगायतमा पनि सहयोग गर्न सक्ने उल्लेख गरे । “विराटनगर तपाईँहरूको पनि हो, तपाईँहरूले यहाँको सौन्दर्यीकरण सँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ,” कोइरालाले भने । 
उपमेयर शिल्पा निराला कार्कीले बैङ्कहरूले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको सुनाइन् । उनले छिटोभन्दा छिटो पार्किङको व्यवस्थापन गर्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको सुनाए । उनले आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको ५ वटा वडामा कर सङ्कलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी गराए । सबै करदाताको घर आँगमै पुगेर कर सङ्कलन गरिने उनको भनाइ थियो ।
गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
biratnagar-mahanagar-chalfa