इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान ९ बजे मतदाता नामावली प्रकाशित गरेर प्रक्रिया सुरु भएको हो ।

२९ सदस्यीय प्रदेशसभामा संसदीय दलको नेतामा ४ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । यसअघिका प्रमुख सचेतक तथा आन्तरिक मामिला मन्त्री केदार कार्की र केन्द्रीय सदस्य अमृत अर्यालको दाबेदारिलाई प्रमुख रूपमा हेरिएको छ । 

डाक्टर शेखर कोइरालाका कार्की र संस्थापन समुहबाट अर्यालले उम्मेदवारी दिने भएका छन् । 

त्यस्तै कृष्ण प्रसाद सिटौला प्यानलका प्रदेश सभापति उद्धव थापा र भीम प्रसाद पराजुलीले समेत दाबेदारी प्रस्तुत गरेका छन् । संस्थापन प्यानल र सिटौला प्यानलबाट साझा उम्मेदवार तय गर्ने गरी वार्ता सुरु भएको छ । 

दिउँसो १२:३० बजे मनोनयन दर्ता गर्ने समय राखिएको छ । आजै दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने समय राखिएकोले सहमति प्रयास भइरहेको मोरङ काँग्रेस सभापति डिगबहादुर लिम्बुले बताए । नेताहरूले छलफल गरेर निष्कर्ष निकाल्ने तयारी भएको उनले जानकारी दिए । 

आजै बिहान डा कोइरालाले कोइराला निवास विराटनगर मा प्रदेश सांसद सँग चियापान कार्यक्रमको आयोजना गरेका छन् । सहमति प्रयास स्वरूप डाक्टर कोइरालाले अग्रसरता लिएका हुन् । 

आज दिउँसो सम्म सहमति नभए भोलि १५ गते विराटनगरको बरगाछिमा ९ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Congress samsadiya dal