चतरा : वराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ स्थित श्रीलङ्का टप्पुमा रहेका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र बालुवाटार काठमाडौँले वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा बिद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो। 
उक्त पोसाक बिहीबार वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए । 
ग्रामीण स्वावलम्बन विकास केन्द्र कार्यकारी प्रमुख शिवप्रसाद बस्यालका अनुसार टप्पुमा रहेका ३ वटा विद्यालयका ४ सय ५० जना बिद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ। टप्पुमा रहेको स्थानीय वाल सेवा आधारभूत विद्यालयका ७३ जना छात्र र ५८ जना छात्रा, जनता आधारभूत विद्यालयका १ सय ४३ जना छात्र र १ सय ७ जना छात्रा त्यस्तै कोशीका आधारभूत विद्यालयका ५२ जना छात्र र ४८ जना छात्रा गरेर ४ सय ५० जना बिद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो । 
आर्थिक, शैक्षिक तथा विकासको हिसाबले पछि परेको टप्पुमा रहेका बिद्यार्थीहरुलाई पोसाकले बिद्यार्थीहरुलाई विद्यालय जान उत्प्रेरणा मिल्ने नगर प्रमुख कार्कीले बताए । बिपदको क्षेत्रमा काम गर्दै आएको ग्रामीण स्वावलम्बन विकास केन्द्र बिपदको पूर्व तयारी र बिपदबाट प्रभावित भएका मानिसको आय आर्जन र क्षमता विकासमा काम गर्दै आएको केन्द्रका दीपेन्द्र गौतमले बताए । 
केन्द्रले मालटेस्टर इन्टरनेसनल र एस्सन डिस्लायण्ड हिप्टसंगको सहयोगमा बेलका नगरपालिका भित्रका ७ बटा विद्यालयका बिद्यार्थीहरुलाइ समेत पोसाक वितरण गरेको थियो।