काठमाडौँ : ब्राजिलका महान् फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बिबिसीले जनाएको छ । 
मिर्गौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभेम्बरमा अस्पताल भर्ना भएका थिए । 
लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाएका थिए । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।  
हालसम्म तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले हुन् र सन् १९५८ मा ब्राजिलले पहिलो पटक विश्वकप उचाल्दा उनी १७ वर्षका थिए।
पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । उनले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बिचका विश्वकप प्रतियोगितामा भाग लिए।
१५ वर्षको उमेरमा सेन्टोस क्लबबाट फुटबल खेल्न थालेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए ।