इटहरी  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले ज्ञानेन्द्र बहादुर काकीको कारण संसदीय दलको नेतामा पराजित भएको आरोप लगाएका छन् । ग्रामीण खबरको अन्तरवार्तामा कुरा गर्दै उनले कार्कीले बेइमानी गरेको कारण प्रदेश १ संसदीय दलको नेतामा पराजय भोग्नु परेको बताएका हुन् ।

मोरङ क्षेत्र नम्बर ५(२) बाट प्रदेशसभामा विजयी अर्याललाई भावी मुख्यमन्त्रीको रूपमा परिचित गराइएको थियो । संस्थापन शेरबहादुर देउवा प्यानलका खम्बा मानिएका अर्याल अन्ततः संसदीय दलको नेतामै पराजित भए । पराजय सँगै उनले आफ्नै समुहका नेता प्रति टिप्पणी गर्न थालेका छन् ।

समानुपातिकबाट सांसद भएका उद्धव थापा दलको नेता भएपछि अर्यालले जनमतको अवमूल्यन भएको बताएका छन् । जनताबाट अनुमोदित व्यक्ती नै संसदीय दलको नेता हुनुपर्ने उनको भनाई छ । थापाले यसअघि आफै आग्रह गरेर संसदीय दलको नेतामा सहयोग गर्ने आश्वासन दिएको अर्याल बताउँछन् ।

तथापि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको कारण आफू पराजित हुनुपरेको प्रस्ट पारेका छन् । ‘ज्ञानेन्द्र दाइसँग १५ वर्ष सम्म सङ्गत गरेँ । नितान्त एकाङ्की, सङ्कुचित र कसैलाई अगाडी बढाउन नखोज्ने मान्छे हुनुहुँदो रहेछ । वहाँको भर परेर गल्ती गरेको रहेछु । वहाँकै कारण सुनसरीमा काँग्रेसको हालत खराब भएको छ । राजीव कोइरालाले नेतृत्व गर्दा ३ क्षेत्र जितेको काँग्रेस अहिले वहाँले मात्र जित्नुभयो । सुनसरीमा विद्रोहको अवस्था सृजना भएको छ,’ उनले भने ।

काठमाडौँ गएर कार्की सँग भेटको स्मरण गर्दै उनले भनेका छन्, ‘दाइ म संसदीय दलको नेता लड्दै छु । तपाईँको के छ समर्थन ? भनेर सोधेँ । हैन तिमि नै लड्नुपर्छ तिमिले नै दायित्व लिनुपर्छ भन्नुभयो । तर पछिल्लो समय आएर वहाँले जनमत छैन छाड्नुपर्ने भयो भन्दै दबाब सृजना गर्नुभयो । ‘तपाईँको जनमत सिद्ध गर्ने के छ प्रमाण ? को को मान्छेले भोट हाल्छन् ?,’ भनेर माग्नुभयो । मैले पनि १८ जना समर्थन गर्नेहरूको लिस्ट दिएँ । त्यसलाई मिसयुज गर्नुभएछ वहाँले । प्रत्येक नेतालाई फोन गरेर दबाब दिएपछि मैले समर्थन गुमाएको हुँ ।, उनले थप भने, चारदिन अगाडी नै मलाई हार्दैछु भनेर थाहा थियो ।

प्रदेश १ को सङ्गठन कार्कीकै कारण ध्वस्त बन्दै गएको आरोप लगाएका छन् । कार्कीको जुन प्रवृत्तिले नेपाली काँग्रेसलाई यो अवस्थामा पुर्‍याएको विरुद्धमा लाग्नको लागि मात्र उम्मेदवारी दिएको उनले प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका अर्याललाई सभापति देउवाले नै मुख्यमन्त्रीको रूपमा अगाडी बढाएका थिए । मुख्यमन्त्रीको आश्वासन पाएका अर्याल आम निर्वाचनमा विजयी भए पनि संसदीय दलको चुनावमा भने नराम्ररी पराजित हुनुपर्‍यो ।

शुक्रवार सम्पन्न प्रदेश संसदीय दलको निर्वाचनमा अर्याल २ मतमा समेटिए । २९ जना मतदाता मध्ये समानुपातिक सांसद उद्धव थापाले १८ मत पाए । उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए । पहिलो चरणमै बहुमत पाएका थापा दलको नेता चुनिए । देउवाको विश्वासपात्र रहेका अर्यालको पराजयले संस्थापन पक्षमा विभाजन देखिएको छ । थापा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला प्यानलबाट प्रदेश सभापतिमा विजयी भएका हुन भने कार्की डाक्टर शेखर कोइराला निकट हुन् ।