• रश्मि प्रधान

धरान : जिल्ला सहकारी सङ्घमा आबद्ध सहकारी संस्थाहरूको धरान स्थित धरान नगर सहकारी समन्वय समितिले आज सोमवार धरान उपमहानगरपालिका मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाउँदै धरानमा उपमहानगरपालिकाको सहकारी विकास समिति चाँडो गठन गर्न माग गरेको छ । ८७ वटा सहकारी संस्थाहरूले संयुक्त रूपमा उक्त माग सहित पाँच बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको पहिलो बुँदामा सहकारी विकास समिति चाँडो गठन गर्न माग गरिएको छ । 

धरान उपमहानगरपालिका कार्यपालिकाद्वारा गठन गरिने विषयगत समितिहरू मध्ये सहकारी विकास समिति पनि एक हो । समितिले धरानका सहकारी संस्थाहरूको अनुगमन, मुल्याङकन तथा समस्याहरूको निगरानी गर्दछ । पछिल्लो समय सहकारी संस्थाहरूमा धेरै समस्या देखिएका छन् । समिति गठन नहुँदा समस्याको निराकरणका लागि सहकारी सङ्घ सँग समन्वय हुन सकेको छैन । नियमावली र कार्यविधि बनाउने र सहकारी संस्थाहरूलाई व्यवस्थापनको स्पष्ट नीति बन्न सकेको छैन ।

ज्ञापन पत्रमा सहकारीहरूले समिति चाँडो गठन गरी सहकारी सहकारी नियमावली दफा ६१ व्यवस्था, कार्यविधि निर्माण सहकारी संस्थाहरूलाई व्यवस्थापन गर्न एकीकरण गरिनु पर्ने माग गरेका छन् । साथै स्थानीय सरकारले सहकारीहरूको प्रचलित ब्याजदर समयसापेक्ष कायम गर्न पनि माग गरेका छन् । ज्ञापन पत्रमा उपमहानगरपालिकाले सहकारीहरूका शेयर सदस्य, बचतकर्ता लगायत आम धरावासी समुदायमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको छ ।

सहकारीहरूको उक्त संयुक्त ५ बुँदे माग जिल्ला सहकारी सघ, धरान नगर समन्वय समितिको भेलाले पारित गरेको धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामाले बताए । उनका अनुसार समितिको आयोजनामा धरानभरिका सहकारी सञ्चालक र व्यवस्थापक सहितको अन्तरक्रियात्मक भेला भएको थियो । सोही भेलाले निष्कर्षका रूपमा ५ बुँदे माग उपमहानगरपालिकामा बुझाउने निर्णय गरिएको हो ।   

 ज्ञापन पत्र जिल्ला सहकारीका उपाध्यक्ष काजी गिरीको नेतृत्वमा जिल्ला बचत सङ्घका बचत सङ्घका अध्यक्ष शिवराज श्रेष्ठ सहितको टोलीले मेयर राईलाई बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मेयर राईले आफू सहकारी प्रति सकारात्मक भएको बताउँदै सहकारीमा ऋण खाएर बेलामा नतिर्ने खराब ऋणीलाई कानुनी दायरामा ल्याउने नीति बनाउने प्रतिबद्धता जनाए । त्यस्ता ऋणीलाई वडा देखि उपमहानगरपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा सुविधा वञ्चित गर्न सकिने उनको भनाई थियो । 

बराह सहकारीबाट पीडितहरूको सघर्ष समितिबाट त्रसित रहेका धरानका मेयर साम्पाङले यशअघि कुनै पनि सहकारीका कार्यक्रममा खासै चासो दिएका थिएनन् । उनले गएको साउन २१ गते धरान नगर सहकारीको वृक्षारोपणमा फोटो  खिच्न बोलाउँदा पनि मानेका थिएनन् । यस्तै भदौ ७ गते नगर सहकारीले ७ बुँदे चुनावी प्रतिबद्धता पूरा गर्न माग गर्दै धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघालाई ज्ञापन पत्र बुझाउन जाँदा समेत मेयर साम्पाङले गलत बाटो गरेर आउने सहकारीलाई लात्तै लात्ताले हान्ने भनेका थिए ।