काठमाडौँ : काठमाडौँको धुम्बाराहीमा आगो लागेर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। 
इन्गेजमेन्ट तोडेपछि काठमाडौँ महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गत मङ्सिर १८ गते आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। 
उनको मृत्यु भएपछि प्रहरीले सुधनलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ। 
यस घटनामा मृतक परिवारले सुरुमा सुधनसहित उनको परिवारका चार जनाविरुद्ध मुद्दा हालेका थिए। तर अदालतले सुधनमाथि मात्रै अनुसन्धान गर्न म्याद थप गरेको थियो।  प्रहरीले अनुसन्धान गरी पुस ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको थियो। त्यसपछि पुस १३ गते बुधवार मुद्दा दर्ता भएकोमा बिहीबार थुनामा पठाएको हो।
सुधनसँग पुष्पाको गत भदौमा इन्गेजमेन्ट भएको थियो। पुष्पा दरबारमार्ग स्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने सुधनको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको सोरूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए। त्यसपछि उनीहरूबिच प्रेम भएको थियो।  उनीहरूले विवाहसम्म गर्ने निधो गरिसकेका थिए। त्यसैका लागि उनीहरूले इन्गेजमेन्ट समेत गरे। 
तर उनीहरूको सम्बन्धमा दरार आएको पनि प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीलाई सुधनले दिएको बयानका अनुसार उनीहरूले विवाह नै गर्ने कुरा भए पनि पछि सहमतिमै विच्छेद भएको बताएका छन्।  पुष्पाले यसअघिको अफयरमा शारीरिक सम्बन्धमा समेत बसेका कारण छुट्टिन सक्ने कुरा समेत गरेको बयान दिएका छन्।  
‘मृतकले मलाई जरुरी कुरा गर्नुछ भनेर एक दिन भेट्न बोलाइन्। त्यस दिन यसअघिको सम्बन्धमा शारीरिक सम्बन्ध रहेको कुरा गरिन्। त्यसपछि मैले घरपरिवारमा सुनाएँ। मृतकले पनि सम्बन्ध कायम नराख्ने भए नराखौँ मलाई आपत्ति पनि छैन भन्ने कुरा गरिन्। त्यसरी विवाह नगर्ने भनेर कुरा गरेको पनि देखियो,’ उनको बयान उद्धृत गर्दै स्रोतले भन्यो।
आफूले उनलाई आत्महत्या गर्न दुरुत्साहन वा उक्साउने काम पनि नगरेको सुधनले दाबी गरेका छन्। यद्यपि त्यस दिन त्यसरी किन आत्महत्या गर्न आएको हो भन्ने कुरा आफूलाई जानकारी पनि नभएको उनले बयान दिएका छन्।
‘अलगअलग हुने कुरा भए पनि मैले दुरुत्साहन वा उक्साएर उनले आत्महत्या गरेकी होइनन्। के कारणले मेरो घर अगाडि आएर जलिन् थाहा छैन। मैले मार्न खोजेको पनि होइन,’ सुधनले भनेका छन्। प्रहरीले प्रमाणको रूपमा मेसेन्जरका च्याटको स्क्रिनसटहरू पनि पेस गरेको छ। 
जसमा पनि उनीहरूबिच छुट्टिने कुरा भएको देखिएको सरकारी वकिल कार्यालय स्रोतले बतायो।  घटना भएको दिन पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको आफन्तको भनाइ थियो।   प्रहरीले यसमा दुई जना पठाओ ड्राइभरसँग पनि बयान लिएको छ। 
बुद्धनगर बस्ने उनी सुरुमा त्यहाँबाट धुम्बाराहीसम्म पुगेकी थिइन्। त्यहाँको पेट्रोल पम्पमा पुगेर उनले एक जर्किन पेट्रोल किनेको बयान ती पठाओ राइडरले दिएका छन्। त्यसपछि त्यहाँबाट अर्को पठाओ राइडर बोलाएर सुधनको घर अगाडिसम्म गएको अर्का राइडरले बयान दिएका छन्।
सुधनको घर अगाडि जलेको थाहा पाएपछि सुधनका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी जलेको जानकारी गराएका थिए। 
पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। 
त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। यसबारे अदालतले निर्णय गर्न बाँकी नै छ।
-सेतोपाटीबाट