विराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । 
विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्त्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र विद्यार्थी सँगै बसेर पाठ्यक्रम बिना नै विद्यार्थीहरूले सिक्दै जाने उल्लेख गरे । 
“गुरुकुल शिक्षाको महत्त्व बेग्लै छ । गुरुकुल शिक्षामा विद्यार्थी र शिक्षक सँगै बसेर पाठ्यक्रम बिना नै सिक्दै जान्छन् । त्यति मात्रै होइन उनीहरू स्वअनुशासित समेत हुन्छ,” प्रतिनिधिसभाका सांसदसमेत रहका नेता कोइरालाले भने, “गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवनमा प्रवेश गरेपछि कसरी गृहस्थ जीवन चलाउने भनेर ज्ञानसमेत दिन्छ ।” 
नेता कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले अझै बुझ्न नसकेको बताए । नेपाली भाषाको पनि मातृ भाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्त्वका साथ राज्यले हेरिनुपर्नेमा कोइरालाले जोड दिए । संस्कृत भाषा र यसका ध्वनिका विषयमा वैज्ञानिकहरूले समेत खोज गरिरहेकाले यसको औचित्यसमेत पुष्टि हुँदै गएको उनको भनाइ थियो । 
कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएको र यसका विषयमा प्रदेशसभामा आवाज उठाउने बताए । पराजुलीले संस्कृत भाषालाई माध्यमिक तहसम्म पढाइहुनुपर्ने जोड दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको बताए । उनले नेपालमा रहेको एउटा मात्रै संस्कृत विश्वविद्यालयलाई चलायमान बनाउन नसकिएको समेत उल्लेख गरे । 
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा. गुरुप्रसाद सुवेदी, डा. बासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए। संस्कृत भाषा सम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पिठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए।