झापा : झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ अन्दाजी वर्ष २१ योसन लिम्बुको मृत्यु भएको हो ।
सोही मोटरसाइकल पछाडि सवार मोरङ बेलबारी नगरपालिका वडा नं. ४ अन्दाजी १७ कि लीला श्रेष्ठ र चालक योसन लिम्बु घाइते भएर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा योसन लिम्बु उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ का वर्ष ३३ वर्षीय डिल्लीबहादुर लेप्चा प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता झापाको मेचीनगर नगरपालिका २ त्रिमार्ग चोकमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
सोमबार साँझ उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ह ७१५३ नम्बरको अटोले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय रविलाल दनुवार घाइते हुनुभएको थियो । घाइते भएका दनुवारको उपचारको क्रममा बिएण्डसि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
ठक्कर दिने अटो चालक ४० वर्षीय भूपाल बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।