झापा : झापाका विभिन्न स्थानहरूबाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका कन्काई नगरपालिका ५ का २२ वर्षीय गौरव चुँडाल र ४४ वर्षीय भीम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । 
यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ भट्टराई चौकबाट स्थानीय २८ वर्षीय दिलीप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । 
यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ७ का २३ वर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित मङ्गलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।