धरान : बेलायत स्थित नेपालीहरूले बिपी प्रतिष्ठानमा उपचार गराई रहेका मिर्गौलाका बिरामी युवकको उपचारका लागि साढे पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । तेह्रथुम लालीगुराँस नगरपालिका-४ साबिक सोल्मा-९ का २३ वर्षीय युवक सुमन लिम्बुको उपचारका लागि उक्त रकम प्रदान गरिएको हो ।

बेलायत स्थित तेह्रथुम समाज युकेले त्यहाँका तेह्रथुमे नेपालीहरूबाट उक्त रकम सङ्कलन गरेको हो । समाजको धरान स्थित संयोजक किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले युकेबाट आएको कुल ५ लाख ४२ हजार रुपैयाँ बुधवार पीडितका बाबु चन्द्रबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन् ।

मिर्गौला पीडित सुमनको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ महिना देखी डायलसीस उपचार भइरहेको छ । उनको दुवै मिर्गौलामा खराबी देखिएकाले अर्को मिर्गौला प्रत्यारोपण गरिनु पर्ने चिकित्सकहरूले बताएका छन् ।

सुमनको बुबा चन्द्रबहादुरका अनुसार छोराको उपचारमा भएको सम्पत्ति सकिएकोले प्रत्यारोपणका लागि आर्थिक अभाव भएको बताए । प्रत्यारोपणका लागि सहयोगी दाताहरूबाट आर्थिक सहयोग जुटाइदिनका लागि सहयोगी मनहरूमा उनले आग्रह गरेका छन् ।