धरान : दलबाट निर्वाचित भएपछि पार्टी निर्णयको बेवास्ता गर्ने र निर्वाचितहरूमा दम्भ बढ्ने विषय नौलो होइन ।

निर्वाचनताका जनतामाझ प्रतिबद्धता गरेका मुद्दा धेरै पूरा हुँदैनन्, त्यो भन्दा बढ्ता पार्टीका अवसरबाट वञ्चित नेता कार्यकर्ताको माग पूरा हुँदैनन् । र, पार्टीभित्रै निर्वाचित प्रतिनिधिप्रति आलोचित बन्छन् ।

पार्टीभित्र सल्लाह नगरी आफ्नो व्यक्तिगत निर्णय गर्ने प्रवृत्तिका कारण निर्वाचित प्रतिनिधि विवादमा पर्ने गर्छन् ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलमा नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवती रमण भण्डारी चुनिएपछि निर्वाचित सांसदले अनभिज्ञता प्रकट गर्दै आपत्ति जनाएका छन् ।

सुनसरी क्षेत्र न. १ प्रदेश सभा २ बाट निर्वाचित सांसद विजयकुमार राईले नेकपा एमाले संसदीय दल, प्रदेश नम्बर १ को प्रमुख सचेतक पदमा नियुक्त गर्दा सल्लाह नगरेको र जानकारी समेत नगराइएको आशय व्यक्त गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्  ।

एमालेकै एक कार्यकर्ताले भण्डारीलाई बधाई तथा शुभकामना साथै कार्यकाल सफलताको शुभकामना दिँदै लेखेको पोस्टमा सांसद राईले 'विडम्बना' भएको उल्लेख गरेका छन् ।

सांसद राईले लेखेका छन्, 'के भयो ? संसदीयको दलको प्रमुख सचेतक चुनियो तर म सदस्य मलाई थाहा छैन ! विडम्बना?' सांसद राई नेकपा एमालेका प्रदेश कमिटी सदस्य र संसदीय दलका पनि सदस्य हुन् ।

सांसद राईको प्रतिक्रियाको उत्तर दिँदै सञ्जाल प्रयोगकर्ताले मेन्सन गरेका छन्, 'दाजु पिडा त सबैलाई उतिकै हुँदो रैछ नि !'