धरान : किरात समुदायहरूले नयाँ वर्षको रूपमा मनाउँदै आइरहेको यले सम्वतको अवसरमा यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटबल प्रतियोगिता ५०८३ हुने भएको छ ।
किरात न्यु इयर इभ ५०८३ मनाउँदै किरात राई खेलकुद सङ्घ, सुनसरीको आयोजना तथा धरान बास्केटबल सङ्घको व्यवस्थापनमा पौष २९ र ३० गते दुई दिने प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान र धरान आसपासका करिब एक दर्जन महिला टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
किरात समुदायहरूले माघ १ गते माघे संक्रातिलाई नयाँ वर्षको रूपमा मान्दै आइरहेको छ । हरेक वर्ष माघ १ गते यले सम्वतलाई किरात राई यायोक्खाले देशभर भव्य रूपमा मनाउन गरेको छ। देश विदेशमा रहेका किरात समुदायहरूले समेत आ-आफ्नै तरिकाले यले संवत् यलेदोङलाई भव्य रूपमा मनाउँदै आइरहेको छ । 
किरात राई यायोक्खा सुनसरीले किरात नयाँ वर्ष यलेदोङको अवसरमा बेलुन उडाउने, साकेला नाच गर्ने, मैत्रीपूर्ण फुटसल खेल्ने, धरान-१७ स्थित साकेल पार्कमा रहेको यलम्वरको प्रतिमामा दीप प्रज्वलन गर्ने जस्ता कार्यक्रम रहेको छ ।