विराटनगर : आसन्न नेपाल प्रेस युनियन प्रदेशको अधिवेशनमा विराटनगर महानगरको प्रेस संयोजक समेत रहेका पत्रकार मीनकुमार श्रेष्ठले प्रदेश अध्यक्षमा उम्मेदवारी दीने भएका छन् ।
शनिवार विराटनगरमा उपलब्ध प्रेस युनियनमा आबद्ध पत्रकारहरूको भेलामा श्रेष्ठले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रेस युनियन मोरङका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ युवा साहित्यकार पनि हुन् । श्रेष्ठका तीन वटा कृतिसमेत प्रकाशित छन् । नेपाल सरकारले युवा साहित्यकारलाई दिने सबैभन्दा प्रतिष्ठित युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका श्रेष्ठ नेपाली लेखक सङ्घ, आर्थिक पत्रकार मञ्चलगायत दर्जनौँ सङ्घसंस्थामा आबद्ध छन् । 
प्रदेशमा युनियनलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको उनले बताए । पत्रकार महासङ्घसहित अन्य पत्रकारसँग सम्बद्ध विभिन्न सङ्गठनहरूसँग सहकार्य गरेर पत्रकारहरूको हकहित र अधिकारका लागि आफूले कार्य गर्ने श्रेष्ठको भनाइ छ । 
आफू अध्यक्ष भए वर्षमा कम्तीमा दुई पटक बेग्लाबेग्लै जिल्लामा प्रदेश भेला गर्ने उनले योजना सुनाए । प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रेस युनियनको इतिहास झल्कने स्मारिकासमेत प्रकाशित गर्ने श्रेष्ठले बताए । “आफूले नेतृत्व गर्न पाए युनियनलाई प्रदेशमा पूरै चलायमान बनाउँछु,” उनले भने । कारोबार दैनिकका प्रदेश-१ संयोजकसमेत रहेका पत्रकार श्रेष्ठ मकालु टेलिभिजनका सह-सम्पादक र महानगरका प्रेस संयोजकको रूपमा कार्यरत छन् । 
भेलामा नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष एवं युनियनका प्रदेश संयोजक लीला वल्लभ घिमिरे, प्रेस युनियनका उपमहासचिव अभयकुमार राई, युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, युनियनका नेता अनन्तराज न्यौपाने, पत्रकार महासङ्घका पूर्व अध्यक्ष दीपक दाहाल, युनियनका पूर्व अध्यक्ष केदार रिजाल, कुमार लुइँटेल, कार्यवाहक अध्यक्ष कौशल निरौला, पत्रकार महासङ्घ मोरङकी उपाध्यक्ष तारा आचार्यसहित केन्द्रीय र प्रदेश पार्षदहरुको उपस्थिति रहेको थियो ।