चतरा : वराहक्षेत्र नगरपालिकाले जोड बढेसँगै सार्वजनिक स्थानहरूमा दाउरा वितरण गर्न सुरु गरेको छ । मानिसहरूको भिड हुने चोक, बजार र सार्वजनिक स्थानहरूमा नगरपालिकाले सामुदायिक वन उपभोक्ता समितिहरूसँग समन्वय गरेर वडा कार्यकाल मार्फत दाउरा वितरण सुरु गरेको हो । 
जाडो बढेसँगै मानिसको जनजीवन प्रभावित हुने भएकाले सार्वजनिक स्थानहरूमा आगो ताप्ने व्यवस्थापन मिलाउन दाउरा वितरण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । जाडोको कारणबाट विपन्न, गरिब परिवारहरू प्रभावित हुने भएकाले यसलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गर्ने कार्यक्रम ल्याएको हो ।
वराहक्षेत्र-७ ले स्थानीय सप्तकोसी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा वडाको सोमबारे, धिमाल चौक, बाङ्गे लगाएको स्थानमा दाउरा वितरण गरिएको वडाध्यक्ष कपिल आचार्यले बताए । आचार्यका अनुसार वडाका मुख्य चौक, सार्वजनिक स्थान र मानिसहरूको जमघट हुने स्थानमा दाउरा वितरण गरिएको हो । 
त्यस्तै वडा नं. ८ ले स्थानीय सामुदायिक वनसँगको सहकार्यमा वडा भित्र रहेका मुख्य मुख्य चौक र अत्ति विपन्न बस्तीहरूमा दाउरा वितरण सुरु गरिएको वडाध्यक्ष रोशन खड्काले  बताए । प्रकाशपुरको बजार र बस्तीहरूमा वडा नं. १० ले पनि दाउरा वितरण गरेको छ । वडाध्यक्ष तेजबहादुर गुरुङका अनुसार बजार, मुख्य चोकहरूमा दाउरा वितरण गरिएको छ।