धरान : शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत चलाउँदै आएको धरानको अग्रणी सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको छ । धरान-१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान ग¥यो । पाँच जना दृष्टिविहिनहरु लाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस्थाले वार्षिकोत्सवमा शारीरिक अपाङ्गता भएकाहरुलाई वैशाखी सहितका सहायक सामाग्री प्रदान गर्दै आएको छ । 

धरान–१२ बुद्ध विहारमा सोमवार आयोजित वार्षिकोत्सवमा प्रसिद्ध मुटु, मृगौला रोग विशेषज्ञ तथा बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्मा प्रमुख अतिथि थिए । उनले उमेर ढल्कँदै गएका, ज्येष्ठ नागरिकहरूले मधुमेह र उच्च रक्तचापको स्थिति बारे सचेत रहनु पर्ने बताए । यी दुवैका कारण मानिसलाई मुटु, मृगौला, आँखा समेतको जोखिम हुने उनको भनाई छ । 

वार्षिकोत्सवको समारोह सँगै सम्यक शिक्षा समूहको नयाँ कार्य समितिको निर्वाचन पनि सम्पन्न भएको छ । समूहको नयाँ कार्यसमिति अध्यक्षमा अनुपमा शाक्य निर्वाचित भएकी छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष चन्द्रमाया शाक्य, उपाध्यक्ष मनोज श्रेष्ठ, सचिव सुस्मिता शाक्य, कोषाध्यक्ष पञ्चु शाक्य, सहसचिव दीपेन्द्र श्रेष्ठ छन् । सदस्यहरूमा नवदिप साह, सृजना शाक्य, लक्ष्मी शाक्य र पुष्पा प्रधान रहेका छन् । 

सम्यक अध्यक्ष चन्द्रमाया शाक्यको सभापतित्वमा भएको पहिलो सत्रको कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू विद्या शाक्य, मोहन श्रेष्ठ, देवेन्द्र शाक्य, सन्दीप शाक्य, अमृत शाक्य, हरिकृष्ण श्रेष्ठको उपस्थिति थियो । समारोहमा रोटरी क्लब काठमाण्डूका पूर्व अध्यक्ष निरञ्जनकुमार भट्टराई विशेष अतिथि थिए ।