• शिशिर खड्का

धरान : उमेरको हिसाबले ज्येष्ठ नागरिकका आँखामा समस्या आउनु स्वाभाविक मानिए पनि पछिल्लो समय मन्टश्वरीका बालबालिकाहरूमा समेत आँखाको समस्या बढेको पाइएको छ । धरानमा आँखा शिविरमा जाँच गर्दै आएकी डा. इच्छा जोशी सोनीले उक्त कुरा बताएकी हुन् ।

धरानको टोल टोलमा सञ्चालित निःशुल्क आँखा शिविरमा बालबालिका पनि आँखाको समस्या लिएर आउनेको गरेको उनले बताइन् । आँखा रोग विशेषज्ञ डा.जोशीले भनिन् ‘मोबाइल धेरै हेर्ने गरेको कारण मन्टश्वरी स्कुलका धेरै बालकालिकाहरुमा पनि आँखाको समस्या पाईएको छ ।’ 

सूर्य आई केयरले धरान र आसपासका समुदायलाई लक्षित गरेर सुरु गरेको टोल समुदायमा नै गएर सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरमा त्यस्तो पाइएको उनले बताइन् । अस्पतालले शनिवार धरान-१८ मा आँखा शिविर आयोजना गरेको थियो । शिविरमा वडाका ज्येष्ठ नागरिक, बालबालिका सहित ११७ जनाले आँखा परीक्षण गरेका थिए । जाँच गरिएका मध्ये ११ जनामा मोतिया विन्दु भएको, १५ जनाले चस्मा लगाउनु पर्ने, ३० जनाको पुन चेक जाँच गर्नुपर्ने र कमजोर दृष्टि भएका १५ जना पाइएको अस्पतालकी वरिष्ठ आँखा रोग विशेषज्ञ डा.जोशीले बताइन । 

शिविरहरू परिवर्तनका लागि सामाजिक अभियानको सहकार्यमा र सूर्य आई केयर धरान-१२ को प्राविधिक सहयोगमा सञ्चालन भइरहेका छन् । कार्यक्रमको संयोजन तथा सहजीकरण अभियानका सल्लाहकार मोहन श्रेष्ठले गरेका थिए ।

surya-Eye-care-campआँखामा समस्या आएका कारण धेरै ज्येष्ठ नागरिकहरूले विभिन्न समस्या भोग्नु परेको कुरालाई ध्यानमा राखेर उनीहरूलाई विशेष लक्षित गरी निःशुल्क शिविरको आयोजना गरिएको वडाध्यक्ष प्रवीण राईले बताए । औपचारिक कार्यक्रममा वडा सदस्य जमुना त्रिखत्रीले आफूले केही हप्ता अघि मात्र आँखाको अपरेसन गरेको र अपरेसन पछि राम्ररी देख्न सकेको बताइन् ।  

शिविरमा निःशुल्क आँखा जाँचका साथै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो। आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए।

समाजसेवी रेवतिरमण राईले आँखाको समस्या भएकाहरूलाई यस किसिमको निःशुल्क आँखा शिविरले ठुलो सहयोग र राहत हुने विचार व्यक्त गरे । टोल समुदायमा आँखा जाँच गर्न पाएकोमा सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।