सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले मापदण्ड पुरा नगरी सञ्चालन गरिरहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सरकारले तोकेको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका तीन वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । 
धरान उपमहानगर भित्र सर्दु खोला नजिक रहेको नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनी नगरपालिका वडा नं.९ मा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्र नगरपालिका चारमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले जानकारी दिए । 
उनले केही दिन अघि अनुगमन गरेको र मापदण्ड अनुरूप चलेको नदेखिएपछि बन्द गर्न मौखिक निर्देशन दिइएको बताए । मानव बस्ती नजिक, खोला छेउ तथा वन जङ्गल क्षेत्र भित्र निर्माण गरेपछि बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रष्ट पारे । 
सुनसरीमा तीन वटा क्रसर उद्योग सञ्चालनमा देखियो । तर ती सबैले मापदण्ड पालना नगरेका बन्द गर्न भनेका छौँ भट्टराईले भने ‘वातावरण प्रभाव मूल्याङ्कन नगरेको, मानव बस्ती नजिक तथा खोलालाई के क्षति गर्छ भन्ने सामान्य नियम समेत पुरा भएको छैन । त्यसैले बन्द गर्न भनेका हौँ ।’ 
तर कुनै पनि क्रसरले निर्देशन नमानेको समेत उनले उल्लेख गरे । मौखिक रूपमा भनेका छौँ तर बन्द गरेको देखिएको छैन, भट्टराईले भने । 
केही दिन अघि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई वातावरण प्रभाव मूल्याङ्कन नगर्ने, मानव बस्ती तथा खोलाको नजिक रहेका क्रसर उद्योगको अवस्था हेरेर मापदण्ड पुरा नगरे बन्द गराउन निर्देशन दिएको थियो ।