सुनसरी : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । 

शुक्रवार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विश्वासको मत प्राप्त गरेका हुन्। 

नेपाली काङ्ग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् । माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले मत हालेनन् । 

मुख्यमन्त्री कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले विश्वासको मत लिनु अगि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाईँ तथा नेकपा एमालेबाट बुद्धिकुमार राज भण्डारीलाई नियुक्त गरेका छन् । 

नवनियुक्त तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो शपथसँगै ३ ‘विना विभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विना विभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।