धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले ३९ औँ साधारण सभाको अवसरमा आज दुई जना पत्रकारलाई पुरस्कार तथा दुई उद्योगी र एक उद्योगलाई सम्मानित गरेको छ। सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर आर्थिक एवं पर्यटन सम्बन्धी पत्रकारितामा योगदान गर्दै आएका पत्रकारद्वयलाई पुरस्कृत गरिएको हो । 
पुरस्कृत पत्रकारद्वयमा भैरव आङला लिम्बू र गोविन्द बस्नेत छन् । अढाई दशक देखी सुनसरीको पत्रकारितामा क्रियाशील पत्रकारद्वय छापा माध्यम, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारितामा संलग्न रहँदै आएका छन् । आङलालाई आर्थिक समाचारमा योगदान गर्दै आएकोमा पुरस्कृत गरिएको हो । बस्नेतलाई पर्यटन सम्बन्धी समाचारमा योगदान गर्दै आएकोमा पुरस्कृत गरिएको हो ।
उनीहरूलाई प्रमुख अतिथि जिल्ला विकास समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सुनसरी जिल्ला विकास समन्वय समितिका अध्यक्ष राजन मेहताले जनही १०/१० हजार रुपैयाँ सहित ताम्रपत्र प्रदान गरेका थिए । सुनसरी उद्योग वाणिज्य सङ्घले वार्षिक रूपमा साधारण सभाको अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
यसैगरी सुनसरी जिल्लाका पुराना तथा हाल सम्म निरन्तर व्यापार व्यवसायमा क्रियाशील दीर्घकालीन एक उद्योगी, एक व्यवसायीलाई सुनसरी उद्योग वाणिज्य सङ्घले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै सम्मानित गरेको छ । साथै उद्योगमा महिला रोजगारलाई प्राथमिकता दिएकोमा एक उद्योगलाई सम्मानित गरेको छ । 
सम्मानित हुने उद्योगीमा पुराना धराने सुरेशकुमार शर्मा छन् । धरानका पुराना बासिन्दा पण्डित मेघराज शर्माका छोरा शर्माले २०२५ सालमा दुहबीमा स्थापना गरेको सूर्यलक्ष्मी राईस मिल अहिले पनि सञ्चालनमा छ । धरानमा पुस्तक पसल समेत सञ्चालन गरेका शर्माका परिवारको यहाँको व्यापार व्यवसाय बढाउन महत्त्वपूर्ण योगदान छ ।
धरान-२ स्थित गोपाल किराना स्टोरका सञ्चालक राजकुमार अटललाई धरानका पुराना व्यवसायीका रूपमा सम्मानित गरिएको छ । गोपाल किराना स्टोर धरानबाट पूर्वी पहाडमा भरीयाद्वारा सामान ढुवानी गरिने समय देखी किराना मनिहारीका थोक विक्रेता हो। पछिल्लो समय खाद्यान्नको व्यापार थप गरी व्यवसायलाई निरन्तरता दिदैं आएको छ । 
यसैगरी साधारण सभाको अवसरमा सुनसरीको खनार स्थित लायन्स स्पिनिङ एण्ड विभिङ मिल्सलाई महिलाहरूलाई रोजगारीमा प्राथमिकता दिएकोमा सम्मानित गरेको छ । तेस्रो मुलुकमा धागो निर्यात गर्ने उक्त उद्योगमा कार्यरत ४ हजार श्रमिकमा महिला श्रमिकको सङ्ख्या १५ सय ५० जना रहेको छ। यसबाट महिलालाई रोजगारी दिने उद्योगमा लायन्स अग्रणी रहेकोले सम्मानित गरिएको हो । सम्मान कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए ।